काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका चार जनासँग स्पष्टीकरण मागेको छ।
स्पष्टीकरण सोधिएका उम्मेदवारमा नेपाली जनसेवा पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का कमल भुसाल (निकोलस भुसाल), श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ का उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) रहेका छन्। यस्तै, नेपाल जनसेवा पार्टीबाट भक्तपुर–२ की उम्मेदवार जानुका पाठक (शोभा पाठक) र सोही क्षेत्रका नेकपा (एमाले) सचिव महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण मागेको जनाएको छ।
आयोगका अनुसार भुसालले ‘जेन–जी’ आन्दोलनसँग जोडिएको ‘आइकोनिक’ जुत्तालाई चुनाव चिह्नका रूपमा प्रचार गरेको विषयमा स्पष्टीकरण मागिएको हो। धरानका मेयरसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरी टिसर्ट लगाउन लगाएको आरोपमा स्पष्टीकरण सोधिएको छ।
त्यस्तै, पाठकले अन्य उम्मेदवारमाथि घृणाजन्य टिप्पणी तथा विभिन्न आरोप लगाएको विषयमा, र बस्नेतले झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का विषयमा आपत्तिजनक टिप्पणी गरेको विषयमा स्पष्टीकरण मागिएको आयोगले जनाएको छ।