काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को देब्रे खुट्टामा चोट लागेको छ। माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा उनको खुट्टामा सामान्य चोट लागेको थियो।
स्वकीय सचिव अविनाश आचार्यका अनुसार उक्त चोट समयसँगै बढ्दै गएर हाल छालाको भित्री तहमा संक्रमण देखिएको छ। संक्रमणको उपचारका लागि लामिछाने हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्।
चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भन्दै केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिएको छ। चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्यमा सुधार आएपछि मात्र उनी पुनः नियमित राजनीतिक तथा संगठनात्मक गतिविधिमा फर्किने स्वकीय सचिव आचार्यले जानकारी दिए।