काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छन्।
मंगलवार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन्। उनका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन।
घाँटीमा मालाझैं लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन्। उनले नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग रोक्न सरकारलाई आग्रह गरिन्।
उनले भनिन्‚ ‘नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन। यसलाई पूरै रोक्नुपर्छ। त्यसैले यो झण्डाको दुरुपयोग भइराखेको कुरालाई टोटल सरकारले रोक्नुपर्छ।’
उनले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानूनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन्।