निर्वाचनमा शान्ति सुरक्षाको अवस्था थप मजबुत बनाउन राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन

निर्वाचनमा शान्ति सुरक्षाको अवस्था थप मजबुत बनाउन राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनमा शान्ति सुरक्षाको अवस्था थप मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ। आयोगले आज(मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।

निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न पनि आयोगले माग गरेको छ। आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरुबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्ति दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि आयोगले जनाएको छ।

यस प्रकारका घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्तिसुरक्षामा समेत असर पर्ने आयोगको ठहर छ।

‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्‍याउनु आवश्यक हुन्छ, अतः कसैले पनि नेपालको संविधान, कानून र मानवअधिकारका अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवम् मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषाको प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोग राजनीतिक दलका नेता, उम्मेदवार एवम् सर्वसाधारणलाई आग्रह गर्दछ, साथै, यसप्रकारका घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्तिसुरक्षामा समेत चुनौती सिर्जना गर्नसक्ने हुँदा शान्तिसुरक्षालाई थप मजबुत बनाउन आयोग नेपाल सरकारलाई समेत निर्देशन गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

खबरपाटी
खबरपाटी