काठमाडौं । निर्वाचनकेन्द्रित सुरक्षा योजनाका विषयमा राष्ट्रिय सुरक्षा परिषदको बैठक सुरू भएको छ।
सोमबार बिहान सिंहदरबारस्थित परिषदको कार्यालयमा बैठक बसिरहेको स्रोतले बतायो।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी र त्यसका योजनाबारे छलफल गर्न परिषदको बैठक बसिरहेको स्रोतले बतायो।
निर्वाचनमा एक महिना अगावै नेपाली सेना परिचालन गर्ने पनि सरकारको तयारी छ। माघ २१ गतेदेखि नै सेनालाई परिचालन गर्ने सरकारको रणनीति छ।
यसअघि मंसिर ४ गते पनि परिषदको बैठक बसेको थियो। उक्त बैठक पछि प्रारम्भिक चरणको सुरक्षा योजनाहरू बनाइएका थिए।
परिषदको बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसिरहेको हो। परिषदको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, रक्षामन्त्री, सरकारको मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोक राज सिग्देल र रक्षा सचिव केदारनाथ शर्मा सहभागी छन्।
यस बैठकपछि सोमबार नै दिउँसो साढे ३ बजे नियमित मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ।