सर्लाही । सर्लाही क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका सभापति **गगनकुमार थापा**ले सोमबार (माघ १२) जनतासँग प्रत्यक्ष संवाद गर्दै आफू यहाँ फोटो खिचाउन वा हात हल्लाउन होइन, जनताको सेवक र बेटा बन्न आएको स्पष्ट पारेका छन्।
धनकौल गाउँपालिका–२ मा आयोजित कोणसभामा थापाले सर्लाहीप्रतिको आफ्नो उपस्थितिलाई औपचारिकताभन्दा पनि जनताको जीवनसँग जोडिएको जिम्मेवारीका रूपमा व्याख्या गरे। “म यहाँ एकछिन आएर जाने होइन, तपाईंहरूको अंग र अंश बन्न आएको हुँ,” उनले भने।
मधेसले नेपाली कांग्रेस र प्रजातन्त्रलाई दिएको योगदानको स्मरण गर्दै थापाले दिवंगत नेता प्रदीप गिरिसँगको संगतले आफूलाई मधेस बुझ्ने अवसर दिएको बताए। मधेसलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न नसकिने उल्लेख गर्दै उनले सर्लाही–४ बाट उम्मेदवारी दिनुको कारण जनताको मन जित्ने आकांक्षा भएको बताए।
थापाले मधेसका विद्यालयहरूमा गणित, विज्ञान र अंग्रेजी विषय कमजोर रहेकोप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि आफ्नो टिमले काम सुरु गरिसकेको जानकारी दिए। युवालाई रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सूचना प्रविधि र प्रतिस्पर्धी शिक्षा प्रणालीलाई प्राथमिकता दिने घोषणा पनि गरे।
काठमाडौं क्षेत्र नम्बर–४ बाट तीन पटक सांसद भइसकेका थापाले सर्लाही–४ मा स्थायी सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता जनाए। यसले काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीयस्तरमै समस्या समाधान गर्ने विश्वास दिलाए।
साँझ पार्टी कार्यकर्तासँगको भेटमा उनले आफू नेता होइन, बेटा बन्न सर्लाही आएको दोहोर्याए। मधेसका शहीदहरूको सम्मान र युवाहरूको भविष्य निर्माणलाई अभियानको केन्द्रबिन्दु बनाउने उल्लेख गर्दै उनले भने, “म चटकेजस्तो काम गर्न आएको होइन, यहाँको भाषा, संस्कृति र रहनसहन सिकेर सर्लाहीलाई देशकै नमूना क्षेत्र बनाउन आएको हुँ।”