निर्वाचन सुरक्षामा चुनौती कहाँ–कहाँ छ?

निर्वाचन सुरक्षामा चुनौती कहाँ–कहाँ छ?

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल निर्धारण गरिएको छ। सुरक्षाको अवस्थालाई आधार मानेर मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन श्रेणीमा वर्गीकरण गरिएको छ।

 

सुरक्षा चुनौती नभएका २ हजार ८४५ मतदान स्थललाई सामान्य श्रेणीमा राखिएको छ। जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले ४ हजार ४४२ मतदान स्थललाई संवेदनशील सूचीमा समेटेको छ।

 

कुल मतदान स्थलमध्ये ३ हजार ६८० वटालाई अति संवेदनशील वर्गीकरण गरिएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा भने १२ वटा मतदान स्थल मात्रै अति संवेदनशील सूचीमा परेका छन्, ती सबै ललितपुर जिल्लामा रहेका छन्। काठमाडौं र भक्तपुरमा अति संवेदनशील मतदान स्थल नरहेको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए।

 

ललितपुरमा भौगोलिक रूपमा विकट क्षेत्रका मतदान स्थललाई अति संवेदनशील मानिएको जनाइएको छ। मतदान स्थलको वर्गीकरण गर्दा भौगोलिक अवस्था र विगतमा भएका घटनालाई पनि आधार बनाइएको छ।

 

प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा धेरै अति संवेदनशील मतदान स्थल रहेका छन्। मधेसका ८ जिल्लाका १ हजार २४६ मतदान स्थल अति संवेदनशील सूचीमा छन्। यस्तै, लुम्बिनी प्रदेशमा ४६२ र सुदूरपश्चिम प्रदेशमा ४८१ मतदान स्थल अति संवेदनशील वर्गमा परेका छन्।

खबरपाटी
खबरपाटी