काठमाडौँ — निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार शक्ति बस्नेतसँग स्पष्टीकरण मागेको छ।
आयोगका अनुसार उजुरीपछि गरिएको छानबिनका क्रममा बस्नेत बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको देखिएको छ। साथै, बाजागाजा बजाइरहेको समूहका सदस्यहरूलाई पाँच सय रुपैयाँका नोट बाँडिरहेको दृश्य देखिएपछि आयोगले स्पष्टीकरण सोधेको हो।
निर्वाचन आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको पाइएकाले किन निर्वाचन कानुनअनुसार कारबाही नगर्ने भन्ने विषयमा स्पष्टीकरण पेस गर्न आग्रह गरिएको छ। आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट वा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।