काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र)बाट अघिल्लो निर्वाचनमा निर्वाचित भएका १० जना आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । २०७९ सालको निर्वाचनमा माओवादीले १६५ निर्वाचनमध्ये १८ सिट जितेको थियो । अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा निर्वाचित जनार्दन शर्मा र भोजपुरबाट निर्वाचित सुदन किरातीले पार्टी छोडेका छन् ।
अहिले शर्मा र किराती दुवै जना प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा छन् । शर्मा यसपटक पनि साविक निर्वाचन क्षेत्र रुकुम पश्चिमबाट नै उम्मेदवार बनेका छन् । उनलाई एमालेले समर्थन गरेको छ । प्रलोपा अध्यक्ष मण्डलका अध्यक्ष रहेका किरातीले निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
दोहोरिने उम्मेदवाररूमा अमनलाल मोदी मोरङ–४, महिन्द्र राय यादव सर्लाही–२, लेखनाथ दाहाल सिन्धुली–२, हितबहादुर तामाङ नुवाकोट–१, माधव सापकोटा सिन्धुपाल्चोक–१ बाट उम्मेदवार बनेका छन् । यस्तै नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व–१, देवेन्द्र पौडेल बागलुङ–२, वर्षमान पुन रोल्पा–१, महेन्द्रबहादुर शाही कालीकोट–१ र शक्तिबहादुर बस्नेत जाजरकोट–१ बाट उम्मेदवार बनेका छन् । प्रचण्ड अघिल्लो निर्वाचनमा गोरखा–२ र पौडेल बागलुङ–२ बाट निर्वाचित भएका थिए । अन्य उम्मेदवारले साविक निर्वाचन क्षेत्रबाट नै उम्मेदवार बनेका छन् ।
२०७९ सालमा निर्वाचित गंगा कार्की, सूर्यमान दोङ, रामकुमार राई, पूर्णबहादुर घर्ती, रेखा शर्मा र छिरिङ डम्डुल लामा भोटेले टिकट पाएनन् । कार्की अघिल्लो निर्वाचनमा दोलखा–१, दोङ काभ्रे–१, राई खोटाङ–१, घर्ती रुकुम पूर्व–१, शर्मा दाङ–२ र लामा भोटे हुम्ला–१ बाट निर्वाचित भएका थिए । योपटक घर्तीको क्षेत्रमा प्रचण्ड, दोङको ठाउँमा दिनानाथ गौतम, राईको ठाउँमा हरि रोका उम्मेदवार बनेका छन् । यसैगरी शर्माको क्षेत्रमा निर्मल आचार्य र लामा भोटेको निर्वाचन क्षेत्रमा डा. दीपेन्द्र रोकाया उम्मेदवार बनेका छन् ।
२०७४ मा एमाले र २०७९ को निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको माओवादीले यसपटक नेकपा एकीकृत समाजवादी लगायत २० वटा वामपन्थी घटकसँग मिलेर नेकपा बनाएको छ । एक्लै चुनावी मैदानमा उत्रिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । समानुपातिकतर्फ सांसद बनेका १४ जनालाई पनि नेकपाले यसपालि दोहोर्याएको छैन ।
अघिल्लो पटक हितराज पाण्डे (गोरखा), दुर्गा राई (भोजपुर), मीना तामाङ (काभ्रे), छिरिङ ल्ह्यामु लामा तामाङ (जुम्ला), रणेन्द्र बराली (तनहुँ), उर्मिला माझी पौडेल (काभ्रे), नारायणी शर्मा (रुकुम) निर्वाचित भएका थिए । शर्मा अहिले प्रलोपामा छिन् । यस्तै ज्ञानु बस्नेत सुवेदी (चितवन), विमला सुवेदी (नुवाकोट), रुपा सोसी चौधरी (कैलाली), सुशीला श्रीपाली ठकुरी (अर्घाखाँची), मीना यादव (सर्लाही), उमरावती देवी यादव (बारा) र कल्पना मिया (चितवन) निर्वाचित भएका थिए ।