काठमाडौँ - फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन्।
आयोगका अनुसार आइतवार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका छन्।
तीनवटा राजनीतिक दलले १३४ जनाको बन्दसूची आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आइतवार र सोमवार बन्दसूची पेश गर्ने समय तोकिएको छ।
आयोगले समानुपातिकको बन्दसूची पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिए। पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेका उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए। निस्सा लिएपछि बन्दसूची पेश गर्न दर्ता गरिने उनको भनाइ छ।
उनले सेवा प्रवाहका लागि आवश्यक स्रोत साधन सबै प्रबन्ध मिलाइएको पनि जानकारी दिए। उनले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकाले समय थप हुन नसक्ने पनि बताए। सोमवार ६ बजेसम्म आउने दलहरूलाई सेवा दिने बताए।
उनले भने, ‘आज यति वेलासम्म ३ वटा राजनीतिक दलहरूबाट जम्मा १३४ जनाको बन्दसूची यहाँ भेरिफाइड भइसकेको छ। आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहका लागि तयार छौँ।’
प्रवक्ता भट्टराईले विभिन्न समूहको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थानुसार दलहरूले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे। आयोगले त्यसको लागि राजनीतिक दलहरूलाई अभिमुखीकरण पनि गरेको उनले बताए।
उनले संशोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम्म समय दिने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिए।