मधेसमा पार्टी एक्लिएको भन्दै एमाले सचिवालय बैठकमै उठ्यो प्रश्न

मधेसमा पार्टी एक्लिएको भन्दै एमाले सचिवालय बैठकमै उठ्यो प्रश्न

नेकपा (एमाले) सचिवालय बैठकमा मधेसमा पार्टी ठूलो दल हुँदाहुँदै एक्लिन पुगेको भन्दै सचिवालय सदस्यहरूले प्रश्न उठाएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ६० औं सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ लगायत नेताहरूले संविधानको धारा १६८ (३) अन्तर्गत् पार्टी नेतृत्वको सरकार बनाउने नाममा एमाले एक्लिन पुगेको धारणा राखेका हुन्।

‘मधेसमा हामीले ठूलो संकटबाट आन्दोलन जोगाएर ल्याएका थियौं। अनेकौं प्रतिकूलताबीच पनि त्यहाँ एमाले पहिलो शक्ति बनिसकेको थियो। आज एक व्यक्तिलाई मुख्यमन्त्री बनाउन जसरी हामीले विधि, पद्धति, परम्परा कुल्चियौं, त्यसले एमालेको धज्जी उडेको छ। आज मधेसमा एमाले एक्लिने परिस्थिति बनेको छ, यसको निर्मम समीक्षा होस्,’ सात जना सचिवालय सदस्यले एक स्वरमा भनेका थिए।

सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउनकै लागि मर्यादा भुल्दा पार्टीलाई मात्रै नभई लोकतन्त्र, संघीयताप्रति पार्टीको प्रतिबद्धता नै कमजोर बन्न पुगेको उनीहरूले बताएका थिए।

गत कात्तिक २४ गते एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई त्यहाँकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबासको पानस होटलमा शपथ गराएकी थिइन्। 

त्यसपछि मधेसको संकट गहिरिँदै गएको छ। एमालेविरूद्ध बाँकी दलहरू एकठाउँ उभिएका छन्। एमालेबाटै निर्वाचित भएका सभामुख रामचन्द्र मण्डललाई आचरणको प्रश्न उठाएर प्रदेशसभाले पदमुक्त गरिसकेको छ।

खबरपाटी
खबरपाटी