एमालेको सचिवालय बैठक आज बस्ने : महाधिवेशनको मिति प्रस्ताव गरिने

एमालेको सचिवालय बैठक आज बस्ने : महाधिवेशनको मिति प्रस्ताव गरिने

काठमाडौं –  नेकपा (एमाले)को सचिवालय बैठक आज (असोज २६) बस्ने भएको छ । शनिबार (असोज २५)का निम्ति निर्धारित बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको भन्दै स्थगन गरिएको थियो । बैठक बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

एमाले सचिवालय बैठक शुक्रबार पनि बसेको थियो । भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

बैठकमा पार्टी पुनर्गठन, संसद् पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए । के गर्ने भन्ने निष्कर्ष निस्किसकेको छैन ।

सचिवालय बैठकबाट पार्टी महाधिवेशनको मिति प्रस्ताव गरिनेछ । पार्टीको महाधिवेशन आउँदो मंसिर अन्तिममा वा पुसको सुरुमा गर्नेे गरी प्रस्ताव गरिने सम्भावना छ । महाधिवेशनको मिति केन्द्रीय कमिटीले तोक्नेछ ।

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्मका निम्ति बोलाइएको छ ।

खबरपाटी
खबरपाटी