
काठमाडौं - नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जनमत पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको एमाले मधेशका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए।
नेपाली कांग्रेसले पनि यसअघि नै मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। आफ्नै नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन जनमत पार्टीलेसमेत फिर्ता लिइसकेको छ।
जनमतले मुख्यमन्त्री सहित मन्त्रीलाई फिर्ता बोलाएको पनि सिंहले संसद फेस गर्ने बताउँदै राजीनामा दिएका छैनन्। त्यसो त मुख्यमन्त्री सिंहले जेन–जीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरेका थिए। तर पछि उनले संसद फेस गर्ने अडान लिएका छन्।
कांग्रेस–एमालेलगायतका दलहरूको समर्थनमा गत वर्ष सिंह मुख्यमन्त्री बनेका थिए। मधेसमा सरकारको नेतृत्व परिवर्तनका लागि छलफल भइरहेको छ।