बन्द हुनसक्ने सोसल मिडिया प्लेटफर्म: अबको बाटो कस्तो?

बन्द हुनसक्ने सोसल मिडिया प्लेटफर्म: अबको बाटो कस्तो?

सरकारले बन्द गर्न लागेका सोसल मिडिया प्लेटफर्म २६ वटा छन् । तीमध्ये चर्चित फेसबुक, एक्स (पहिलाको ट्विटर), युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याट नेपालमा धेरै चलाइने प्लेटफर्म हुन् । यीमध्ये गूगल र मेटा कम्पनीका प्लेटफर्म बढी छन् । अरु प्राय सबै विदेशी ओटीटी प्लेटफर्महरू हुन् । 

नेपालमा फेसबुकका लाखौं प्रयोगकर्ता छन् । इन्स्टाग्राम खासगरी सेलिब्रेटी र युवा पुस्तामाझ लोकप्रिय छ । ह्वाट्सएप वयस्कहरूमाझ बढी लोकप्रिय छ भने स्न्यापच्याट किशोरकिशोरी र युवा वर्गले बढी चलाउँछन् । 
युट्युब भने पछिल्लो समय प्रभावशाली मिडिया प्लेटफर्मको रूपमा अगाडि आएको छ । नेपालमा यी सोसल मिडिया प्लेटफर्मबाट धेरैले करिअर बनाउनुका साथै राम्रो आम्दानी पनि गरिरहेका छन् ।  

सरकारले नेपालको कानुनअनुसार दर्ता भएर चल्न आव्हान गरेको थियो । तर, यी सोसल मिडिया प्लेटफर्मले नेपालमा दर्ता हुन अटेर गरेपछि बन्द गर्ने निर्णय लिनुपरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीस्ब्बा गुरुङले बताएका छन् ।  

के हुन्छ बन्द हुने प्रक्रिया ? 

नेपालको इन्टरनेट क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण हो । नेपालका सबै इन्टरनेट सेवा प्रदायकहरू प्राधिकरणमातहतकै हुन् । प्राधिकरण आफूचाहिँ सञ्चार तथा विज्ञान प्रविधि मन्त्रालयमातहतको निकाय हो । मन्त्रालयले प्राधिकरणलाई पत्र लेखेर दर्ता हुन नआएका सोसल मिडिया प्लेटफर्मलाई निस्कृय पार्न निर्देशन दिएको छ । 

 

अब प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई मन्त्रालयको निर्देशनको अवगत गराउँदै सरकारले तोकेका प्लेटफर्महरू नखुल्ने बताउन निर्देशन दिन्छ । इन्टरनेट सेवा प्रदायकले ब्लक गरिदिएपछि नेपालभित्र फेसबुक, युट्युबलगायत सरकारले प्रतिबन्ध लगाएका प्लेटफर्महरू चल्ने छैनन् । 

यसअघि सरकारले टिकटक बन्द गराएको थियो । लगत्तै टिकटकले नेपालमा दर्ता हुने प्रक्रिया अघि बढाएको थियो । टिकटकभन्दा अगाडि सरकारले नेपालमा पोर्न साइटहरू बन्द गराएको थियो, जुन निर्णय आजपर्यन्त लागू छ । 

खबरपाटी
खबरपाटी