भारतीय विदेश सचिव विक्रम मिश्रीले काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकट भविष्यमा भारत भ्रमण गर्न निम्ता दिएर गएका थिए । २ भदौमा दिइएको उक्त निम्तोमा मिति तोकिएको थिएन । नेपाल र भारत दुवै देशका अधिकारीहरू भदौ ३१ र असोज १ मा उक्त भ्रमण हुनेमा विश्वस्त थिए ।
त्यसको दुई दिनपछि लिपुलेक नाका हुँदै व्यापार गर्न भारत र चीनका विदेशमन्त्री स्तरमा सम्झौता भएपछि नेपालले तत्कालै कुटनीतिक नोट पठायो । प्रधानमन्त्री ओली आफैंले केही दिनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दै उक्त सम्झौताको आधिकारिकताबारे प्रश्न उठाए । उनले उक्त भूभागलाई तथ्य र उपलब्ध प्रमाणहरूले नेपालतर्फ देखाउने प्रसंग पनि राखे ।ओलीको यो कदमबारे भारतीय प्रेस तथा विचार निर्माताहरूबीच विभिन्न कोणबाट चर्चा भयो । लिपुलेक, कालापानी लिम्पियाधुरा नाका समेट्दै नक्सा जारी गर्ने, अनि त्यस अनुसार संविधान संशोधन गर्ने ओली नै यसपल्ट प्रधानमन्त्री भएका बेला फेरि संयोगवश चिनियाँ र भारतीय समकक्षी वाङ यी तथा जयशंकरले लिपुलेक बारे सम्झौता गरिदिए । यसैका कारण ओलीको भारत भ्रमणको तिथि धकेलिने हो कि भन्ने संशय बढेको छ ।