शिक्षक महासंघ आजदेखि पुनः आन्दोलनमा, माग पूरा नभई सडकबाट नफर्कने अडान

शिक्षक महासंघ आजदेखि पुनः आन्दोलनमा, माग पूरा नभई सडकबाट नफर्कने अडान

काठमाडौं।  नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक, २०८० मा आफ्ना माग सम्बोधन नभएको भन्दै आज (भदौ ९)देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा शिक्षकको सेवा सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाइएको आरोप लगाए ।

गएको वैशाखमा शिक्षकले एक महिनासम्म आन्दोलन गरेका थिए । सरकारसित नौबुँदे सहमतिपछि आन्दोलन रोकिएको थियो । तर, यही भदौ ६ गते प्रतिनिधिसभामा पेस गरिएको उक्त विधेयकमा ती सहमति कार्यान्वयन नभएकाले महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताए ।

महासंघले ०७५, ०७८, ०८० र २०८१/८२ मा सरकारसँगका सहमति लागु गर्न, अस्थायी शिक्षकका निम्ति ७५% आन्तरिक र २५% खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ । 

सुवेदीले आन्दोलनको पहिलो चरणमा भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइने बताए ।

भदौ ११ देखि २० गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्ट धर्ना दिइने उनले जानकारी दिए ।

भदौ २१ गतेदेखि दोस्रो चरणको कडा आन्दोलन (धर्ना, अवरोध र विरोध प्रदर्शन) थालिने महासंघले जनाएको छ ।

सुवेदीले आफूहरूको आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानका निम्ति भन्दै माग पूरा नगरिएसम्म सडकबाट नफर्कने बताए । न्युज एजेन्सी नेपाल

खबरपाटी
खबरपाटी