काठमाडौँ – एएफसी यु-२० महिला एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १-० ले पराजित गरेको छ। सुक्रिया मियाँको निर्णायक गोलमा नेपालले साउदीलाई पराजित गरेको हो।
भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली साउदीमाथि इन्जुरी समयमा गोल गर्न सफल भयो। जितपछि नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १-१ को बराबरीमा रोकिएको थियो।
शीर्ष स्थानमा भने साबिक विजेता उत्तर कोरिया छ। उत्तर कोरियाले पहिलो खेलमै साउदीमाथि १५–० को फराकिलो जित हात पारेको थियो। साउदी एक खेलअगावै प्रतियोगिताबाट बाहिरिसकेको छ। भुटानले भने शुक्रबार नै उत्तर कोरियासँग खेल्ने छ।
सिंगल राउन्ड रोविनका आधारमा जारी प्रतियोगितामा समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा स्थान बनाउने छ। समूहबाट उत्तर कोरिया छनोटमा बलियो दाबेदार मानिएको छ।
समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने भएकाले नेपाललाई साउदीविरुद्ध उत्तर कोरियाको झैं फराकिलो जित निकाल्नुपर्ने दबाब थियो। तर, नेपाललाई गोल गर्न अतिरिक्त समयसम्म पर्खियो।
अन्तिम खेलमा भुटानले साउदीलाई हराएमा नेपालको झिनो सम्भावनाको समेत अन्त्य हुनेछ।