सञ्चारमन्त्री भन्छन्: सहमति जुटे मन्त्रिपरिषद् पुनर्गठन हुन्छ

सञ्चारमन्त्री भन्छन्: सहमति जुटे मन्त्रिपरिषद् पुनर्गठन हुन्छ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्तारुढ दलहरूबीच सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने सङ्केत गरेका छन्।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएकाले यसबारे चासो बढ्नु स्वाभाविक भएको बताए।

संचारकर्मीहरुको जिज्ञासामा मन्त्री गुरुङले भने, ‘सामान्यतया २-३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन।’

उनले नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा पुनर्गठनको प्रक्रिया अघि बढ्ने स्पष्ट पारे। मन्त्री गुरुङले मन्त्रीहरूको कार्यसम्पादनको मूल्याङ्कन हुने र प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिने बताए।

पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक गरेका थिए। 

खबरपाटी
खबरपाटी