जनकपुर — धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सूर्यनन्द चौधरीको घरमा डेरागरी बस्दै आएका आशा यादव र उनकी छोरीमाथि सोमबार राति खुकुरी प्रहार भएको छ ।
राति करिब ११:३० बजेतिर भएको घटनामा १५ वर्षीया अञ्जली कुमारी यादवको घटनास्थलमै मृत्यु भएको छ भने उनकी आमा आशा यादव गम्भीर घाइते भएकी छिन् । घटनामा ढल्केवरकी १४ वर्षीया राधा यादव पनि घाइते भएकी छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उमा चतुर्वेदीका अनुसार, खुकुरी प्रहार गर्ने व्यक्ति धनुषा क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साह हुन्। प्रारम्भिक अनुसन्धान अनुसार, पारिवारिक रिसिबीका कारण साहले आशा यादवको कोठामा पसेर अन्धाधुन्ध हमला गरेका थिए।
साह आक्रमणपछि फरार भएका छन् । यद्यपि प्रहरीले उनको पहिचान गरिसकेको छ र लुक्न सक्ने सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र बनाइएको छ ।
प्रहरीका अनुसार, मृतक अञ्जली यादव जनकपुरमा डेरा गरेर अध्ययन गर्दै आएकी थिइन्। घाइते आशा यादव र राधा यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
डीआईजी चतुर्वेदीले जानकारी दिएअनुसार, रामबाबु साह विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रारम्भिक विवरणबाट खुलेको छ ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ ।