वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका तिन वडा पहिरोको उच्च जोखिममा

वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका तिन वडा पहिरोको उच्च जोखिममा

काठमाडौँ- वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका तिन वडा पहिरोको उच्च जोखिम देखिएको छ। विशेषगरी वडा नम्बर १, २ र ३ लाई यसपालिको मनसुनमा अत्यधिक जोखिमयुक्त क्षेत्रको रूपमा चिनिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्र अर्यालले जानकारी दिएका छन्।

गत वर्ष असोजमा आएको अविरल वर्षाका कारण पहिरो गएको वडा नम्बर १, २, ३, ५ र ९ का केही स्थानहरू पुनः जोखिममा परेका छन्। यसअघि पहिरो नदेखिएका ठाउँहरूमा समेत यसपालि भूक्षय र डोजरको चरम प्रयोगले गर्दा जनधनको क्षति हुने खतरा बढेको अर्यालको भनाइ छ।

सबैभन्दा बढी जोखिम वडा नम्बर २ मा

वडा नम्बर २ मा गत वर्ष पहिरोले घर पुरिएर दुई जनाको ज्यान गएको थियो। अहिले पनि सोही स्थानमा पहिरोको दोहोरिने सम्भावना देखिएको छ। अर्यालका अनुसार, “नगरका दुई सयभन्दा बढी स्थानमा पहिरो नियन्त्रणका लागि प्लाष्टिक पठाइएको छ।”

वडा नम्बर १ का वडाध्यक्ष हरि मगरले खहरे, भट्टेडाँडा र गणेश मन्दिर क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा चिनाएका छन्। उनले डोजर प्रयोग, कमजोर भूगर्भीय संरचना र निर्माणका क्रममा अपनाइएको लापरबाहीले समस्या बढाएको बताए।

स्थानीयवासीको आक्रोश र पीडा

वडा नम्बर २ की अम्बिका सञ्जेलले पहिरोको डरले आफ्नो घर छाडेर नगरपालिका पुगेकी छन्। “विकासको नाममा मनलाग्दी डोजर चलाइन्छ, वर्षा सुरु भएपछि मात्र निर्माण गर्ने सोच हुन्छ, अनि यसरी पहिरो जान्छ,” उनले गुनासो गरिन्।

वडा ५ र ९ मा पनि क्षति, दीर्घकालीन समाधान आवश्यक

वडा नम्बर ५ स्थित राधाकृष्ण टोलमा १०० मिटर बाटोको भाग खोलामा खसिसकेको छ। कर्बड हल निर्माणको क्रममा माटो खोस्रिएकाले पहिरो गएको स्थानीयको भनाइ छ।

वडा नम्बर ९ को शान्ति स्तूपाबाट कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरो अझै व्यवस्थापन गरिएको छैन। दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियरिङको उपाय आवश्यक रहेको अर्यालले बताए। वडा नम्बर ८ का केही स्थान पनि पहिरोको उच्च जोखिममा परेका छन्।

तीन करोडको आकस्मिक बजेट

नगर प्रमुख घनश्याम गिरीले आकस्मिक विपद् व्यवस्थापनका लागि नगरपालिकाले तीन करोड रुपैयाँको बजेट छुट्याएको जानकारी दिए। तत्कालीन राहत, पूर्वतयारी र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिइने उनले बताए।

खबरपाटी
खबरपाटी