रायो सागमा भेटियो अत्यधिक विषादी

रायो सागमा भेटियो अत्यधिक विषादी

काठमाडौं । मंगलबार रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको छ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार मंगलबार तरकारीमा विषादी जाँच गर्ने क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको हो।

रायो सागको नमूना परीक्षण गर्दा भक्तपुरका एक किसानको बारीबाट ल्याएको रायो सागमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८२.७८  प्रतिशत भेटिएको छ।

जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत १२ वटा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छन्।


यी प्रयोगशालाले देशभर रहेका कृषि विभाग मातहतका १२ वटा कृषि थोक बजारमा विषादीको जाँच गर्छन्। हामी कहाँ कार्बामेट र अर्गानोफस्फेट गरी रसायनका दुई समूह जाँच हुँदै आएको छ।

विषादी परीक्षण भएपछि त्यसको नतिजा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई दिइने छ। त्यसरी उपभोग गर्न अयोग्य देखिएपछि समितिले त्यसलाई नष्ट गर्छ।

यसअघि पनि रायो साग, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, तनेबोडी र हरियो धनियाँ लगायतका तरकारीमा विषादीको मात्रा अत्यधिक भेटिएको थियो।

खबरपाटी
खबरपाटी