एमआरपी कार्यान्वयनबारे व्यवसायीको गुनासोमा प्रधानमन्त्रीको चासो, समाधानको आश्वासन

एमआरपी कार्यान्वयनबारे व्यवसायीको गुनासोमा प्रधानमन्त्रीको चासो, समाधानको आश्वासन

काठमाडौं। बजारमा विक्री हुने वस्तुहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य उल्लेख गर्नुपर्ने कानुनी प्रावधान लागू भएपछि उत्पन्न कठिनाइबारे व्यवसायीहरूको गुनासोमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्। प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्।

नेपाल समुद्रपार निकासी पैठारी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले एमआरपीको प्रावधानले व्यवसायमा चुनौती थपिएको विषयमा प्रधानमन्त्रीलाई जानकारी दिइएको र समाधानको निर्देशन आएको बताए। “उहाँले यो समस्यामा छलफल गरेर समाधान गर्न भन्नुभएको छ,” उनले स्पष्ट पारे।

व्यवसायमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै डा. खतिवडाले व्यवसायीहरू डराउन नपर्ने बताए। “अध्यादेशमार्फत केही अप्ठ्यारा कानुन खारेज गरिएको छ,” उनले भने, “कालोबजारी ऐनअन्तर्गतको २० प्रतिशत नाफाको प्रावधान हटाउँदा सरकार आलोचना सहन पनि तयार भयो।”

लेबलमा एमआरपी उल्लेख गर्न समस्या भएमा वेबसाइटमार्फत मूल्य जानकारी दिने विकल्पमा जान सकिने सुझाव डा. खतिवडाले दिए। स-साना वस्तुहरूमा एमआरपी खोज्न नहुने र कानुन कार्यान्वयनका निकायहरू पनि लचिलो हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले स-साना वस्तुको हकमा बक्समा मात्र एमआरपी स्टिकर लगाए पुग्ने जानकारी दिए। "युनिटमा लगाउन आवश्यक छैन, बक्समा भए पुग्छ," उनले भने। साथै, आउटलेटमा विक्री हुने वस्तुहरूमा मात्र एमआरपी अनिवार्य हुने र गोदामको स्टकमा त्यसको आवश्यकता नरहेको उनको भनाइ थियो।

महानिर्देशक दाहालले परम्परागत वस्तुमा एमआरपी अनिवार्य नभएको, फरक बजारका लागि फरक मूल्य तोक्न सकिने, र विभाग बिक्री हुने वस्तुको बिल तथा रसिद अनिवार्य गर्ने तयारीमा रहेको बताए। “खुला अर्थतन्त्रमा हामी एमआरपी कति राखियो भनेर प्रश्न गर्दैनौं,” उनले स्पष्ट पारे।

कार्यक्रममा संघका महासचिव जयन्त अग्रवालले एमआरपीले व्यवसायको लागत बढाउने र अन्ततः उपभोक्तामा भार पर्ने भएकाले यसलाई क्रमशः कार्यान्वयन गर्नुपर्ने सुझाव दिए। संघका अध्यक्ष शिवकुमार अग्रवालले कार्यक्रमको स्वागत मन्तव्य राख्दै एमआरपी कार्यान्वयनमा सहजीकरणका उपायहरूबारे सरोकारवालासँग छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

खबरपाटी
खबरपाटी