काठमाडौं : ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा शुक्रबारदेखि सवारीसाधन चल्ने भएका छन्। सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम छ।
उनले उद्घाटन भएलगत्तै ग्वार्को फ्लाइओभरमाथि सवारीसाधन गुड्ने बताए। गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।
मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो। यो देशकै पहिलो फ्लाइओभर निर्माण हो। यसअघि विभिन्न कारणले पटक-पटक काम रोकिँदै आएको थियो।
२०७८ फागुन १२ गते आशिष–समानान्तर–रेलिगेर जेभी र सडक विभागबीच २०८० फागुन ११ (२ वर्ष)को अवधिमा ४ लेनको काम सक्ने गरी सम्झौता भए पनि तोकिएको समयमा बन्न सकेन। त्यसपछि २०८१ पुस ८ गतेसम्म निर्माणको म्याद थप गरियो। थप गरिएको म्यादमा पनि काम सकिएन। अन्ततः १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण भएकाे फ्लाइओभर भोलिदेखि सञ्चालनमा आउने भएको छ।