प्रिमियर गल्फ च्याम्पियनसिपमा एमेच्योर राहुल विश्वकर्माको एकल अग्रता

प्रिमियर गल्फ च्याम्पियनसिपमा एमेच्योर राहुल विश्वकर्माको एकल अग्रता

काठमाडौँ, असार ४ गते । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाउनुभएको छ । 

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको अन्तिम प्रतियोगितामा राहुलले बुधबार ६ अन्डर ६६ खेल्नुभयो । उहाँको समग्रमा १६ अन्डर दुई सय स्कोर छ । 

राहुलले साविक विजेता प्रो सुवास तामाङलाई एक स्ट्रोकले पछि पार्नुभएको छ । सुवासले बुधबार पाँच अन्डर ६७ स्कोर खेल्नुभयो । उहाँको समग्रमा १५ अन्डर दुई सय एक स्कोर छ । 

यस्तै एमेच्योर सद्भाव आचार्य समग्रमा १३ अन्डर दुई सय तीन स्कोरसहित तेस्रो स्थानमा हुनुहुन्छ । बुधबार उहाँले पाँच अन्डर ६७ खेल्नुभयो । 

समग्रमा ११ अन्डर दुई सय पाँच खेल्नुभएका निरज तामाङ र भुवन नगरकोटी संयुक्त चौथो स्थानमा हुनुहुन्छ । बिहीबार फाइनल चरणको १८ होल हुने छ । 

कूल १६ लाख रुपियाँ पुरस्कार राशीको रहेको च्याम्पियनसिपको विजेताले तीन लाख, उपविजेताले एक लाख ८५ हजार र तेस्रो हुनेले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउने छ ।

यस्तै चौथोदेखि २२औँ स्थानमा रहने प्रोले पनि आकर्षक नगद हात पार्ने छन् । एमेच्योरको हातमा ट्रफी पर्ने छ । 

 

खबरपाटी
खबरपाटी