नवलपरासी पूर्वमा ठूलो वर्षा : आसपासका नदी तथा खोलामा सावधानी अपनाउन आग्रह

नवलपरासी पूर्वमा ठूलो वर्षा : आसपासका नदी तथा खोलामा सावधानी अपनाउन आग्रह

काठमाण्डौ, असार ४ – पछिल्लो १२ घण्टामा देशका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भएको छ। सबैभन्दा धेरै वर्षा नवलपरासी पूर्वको डण्डामा मापन गरिएको छ, जहाँ ११६ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी, चितवनमा १००.४ मिलिमिटर र डोटीमा ९१.२ मिलिमिटर वर्षा मापन गरिएको छ। लगातारको वर्षाले ती क्षेत्र वरपरका खोलानालामा जलसतह बढ्ने सम्भावना रहेकाले बाढी तथा पहिरोको जोखिम उच्च भएको महाशाखाले जानकारी दिएको छ।

डडेलधुरा, दाङ, तनहुँ लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम खालको वर्षा भएको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँहरूमा गएराति पानी परेकाले जमिन चिसिएको र थप वर्षासँगै पहिरोको जोखिम बढ्न सक्ने मौसमविद्हarूको अनुमान छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो ती प्रदेशहरूमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना रहेको छ।

मौसमविद् गोविन्द झाका अनुसार मनसुनी वायुले गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा प्रभाव जमाइसकेको छ, तर पश्चिम नेपालसम्म फैलन स्थानीय तथा पश्चिमी वायु कमजोर हुनुपर्ने बताइन्छ। अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ।

महाशाखाका अनुसार ५०–१०० मिलिमिटरलाई भारी वर्षा, १००–२०० मिलिमिटरलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथिलाई अति भारी वर्षाको श्रेणीमा राखिन्छ।

महाशाखाले संभावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार, पहाडी भूभाग तथा भूस्खलन सम्भावित क्षेत्रमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

खबरपाटी
खबरपाटी