सुकुम्बासी बस्तीमा खानेपानीको माग: आजपाद्वारा संघर्षका कार्यक्रम घोषणा

सुकुम्बासी बस्तीमा खानेपानीको माग: आजपाद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । सुकुम्बासी बस्तीमा शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्न मागसहित आम जनता पार्टी (आजपा)ले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आजपा काठमाडौं उपत्यका विशेष कमिटी र आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघको शनिबार कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले बस्तीमा खानेपानी उपलब्ध गराउन सरकारसँग माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

बैठकमा सहभागी नेताहरुले बर्सौंदेखि सुकुम्बासी बस्तीमा खानेपानीको समस्या समाधान नहुँदा जनजीवन कष्टकर बनेको भन्दै सरकारलाई दबाब दिन संघर्ष अघि बढाउनु पर्नेमा जोड दिए।

बैठकका प्रमुख अतिथि तथा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले २१औँ शताब्दीमा समेत सुकुम्बासी बस्तीमा शुद्ध खानेपानी नहुनु मानवता विरुद्धको अपराध भएको बताए। 
अध्यक्ष साहले भने, ूयदि सरकारले तत्काल खानेपानीको व्यवस्था गरेन भने आजपा जस्तोसुकै आन्दोलनका लागि पनि तयार हुनेछ।ू

बैठकले खानेपानीको मागसहित जेठ २६ गते काठमाडौं खानेपानी संस्थानमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ। सो माग सात दिनभित्र सम्बोधन नभए क्रमशः असार २ गते गाग्री थापेर पानी माग्ने, असार ३ गतेदेखि प्रदर्शन गर्ने, तालाबन्दी गर्ने र पानी वितरण अवरुद्ध गर्नेजस्ता संघर्षका कार्यक्रम घोषणा गरिएको छ।


साथै, ुखानेपानीका लागि संघर्ष समिति, सुकुम्बासी बस्ती, काठमाडौुं नामक समिति पनि गठन गरिएको छ। समितिको इञ्चार्जमा आजपा सहअध्यक्ष तिलक थापामगर, सहअध्यक्षमा देवी पण्डित, संयोजकमा कालबहादुर विक, सहसंयोजक उपेन्द्र साह, प्रवक्ता रञ्जुकुमारी साह रहेका छन्। सदस्यहरुमा उपत्यका कमिटीका प्रतिनिधि र संघका अगुवा सदस्यहरु सहभागी छन्।

खबरपाटी
खबरपाटी