लाङटाङ हाफ म्याराथनको उपाधि सोलुखुम्बुका मिलन कुलुङलाई

लाङटाङ हाफ म्याराथनको उपाधि सोलुखुम्बुका मिलन कुलुङलाई

रसुवा, जेठ २४ । मिलन कुलुङले लाङटाङ हाफ म्याराथनको उपाधि जितेका छन्। लाङटाङको क्याँजिन गोम्पाबाट सुरु भई स्याफ्रुबेसीसम्मको ३२ किलोमिटर दुरी तय गर्दै सम्पन्न म्याराथनमा कुलुङले सबै प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन्।

पुरुषतर्फ विशाल राई दोस्रो स्थानमा रहँदा अर्जुन कुलुङ राई तेस्रो भए। त्यस्तै, कृष्ण सिंह बोगटी चौथो र गोपाल तामाङ पाँचौँ स्थानमा रहे।

महिलातर्फ सुनसरी रोकाया प्रथम भइन्। लाक्पा निमा शेर्पा दोस्रो तथा निर्मला राई तेस्रो स्थानमा रहिन्। चौथो स्थानमा आङ पुर्वा शेर्पा र पाँचौँमा प्रिया राईले स्थान हासिल गरे।

लाङटाङ ट्रेल रनको रूपमा परिचित यो हाफ म्याराथन रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा सम्पन्न भएको हो। तेस्रो पर्यटकीय पदमार्गका रूपमा चिनिएको लाङटाङ क्षेत्रको प्रवर्द्धन तथा प्रचार–प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ६७ जना धावकले सहभागिता जनाएका थिए। विजेता मिलन कुलुङले नगद एक लाख रुपैयाँ प्राप्त गरे। दोस्रो हुनेले पचहत्तर हजार र तेस्रो हुनेले पचास हजार रुपैयाँ पुरस्कार पाए। चौथो र पाँचौँ हुनेले क्रमशः पच्चिस हजार र पन्ध्र हजार रुपैयाँ प्राप्त गरेका छन्। पुरुष र महिला दुवैतर्फ समान पुरस्कारको व्यवस्था गरिएको थियो।

प्रतियोगिता अवधिभर लुम्बिनी सञ्चार प्रतिष्ठानले क्याँजिन गुम्बा, लाङटाङ भ्याली, थानसेप, रिभरसाइड, लामाहोटेल, रिम्चे, ब्याम्बु, पहिरो गाउँ हुँदै स्याफ्रुबेसीसम्मको मार्गमा निरन्तर अनुगमन गरेको थियो। आयोजक संस्था रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, संयोजक गगन नेउपाने र उर्जा तामाङले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।

खबरपाटी
खबरपाटी