काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल स्कटल्यान्डको डुन्डेमा दिउँसो पौने ४ बजे शुरू हुनेछ।
लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खलाको पछिल्लो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले हराएको थियो।
उक्त जितसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ। नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ।
नेपालले आगामी दिनहरूमा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग थप खेलहरू खेल्ने तालिका छ। लिग–२ को खेलपछि असार एकमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृङ्खला शुरू हुनेछ।
आईसीसी विश्वकप लिगको अन्त्यमा शीर्ष–४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सोझै स्थान बनाउनेछ। पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ।