राजावादीप्रति एमाले आक्रामक, जेठ १५ को तयारी गर्न जनसंगठनको बैठक जारी

राजावादीप्रति एमाले आक्रामक, जेठ १५ को तयारी गर्न जनसंगठनको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका जनसंगठनका पदाधिकारीको बैठक जारी रहेको छ। पार्टी कार्यालय च्यासलमा जनसंगठन संयन्त्रको आयोजनामा जनसंगठनका पदाधिकारीको बैठक सुरु भएको हो। 

बैठकमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्माकुमारी अर्याल, जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, काठमाडौं उपत्यकाका पार्टी पदाधिकारी, जनसंगठनका अध्यक्ष तथा पदाधिकारी लगायत उपस्थित छन्।


बैठक जेठ १५ गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको छ । नेकपा एमालेको सचिवालय बैठकले जेठ १५ गते राजवादीको आन्दोलनको प्रतिवाद गर्ने र ७ दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ। २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले गणतन्त्र घोषणा भएको हो। २०६२/६३ को जनआन्दोलनपछि २४० वर्ष लामो राजतन्त्र अन्त्य गणतन्त्र आएको हो। गणतन्त्र आएको १७ वर्ष भएको छ।

तर, त्यही दिनदेखि नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डासहित आन्दोलन गर्ने घोषणा गरेको छ। यसमा राप्रपा, राप्रपा नेपाललगायत राजावादी, पुनर्रुत्थानवादीहरूको पनि साथ छ। 

 बैठकले राजावादीहरूको आन्दोलन रोक्न जेजस्तो गर्नुपर्छ त्यस्तै तयारीमा लाग्नसमेत निर्देशन दिएको छ। यसैबीच एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिएका छन्।‘निर्देशनपछि आउँछ। तपाईंहरू जस्तो, जे गर्नुपर्छ, तयारी हालतमा बस्नुहोस्’ उनले भने, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ। कसरी, कुन संस्था अगाडि लाग्छ, कुन संस्थाले आयोजना गर्नुपर्छ, त्यसलाई छोडिदिनुहोस्।’

अध्यक्ष ओलीले एमालेका सबै कार्यकर्ता परिचालित हुँदा कसैले रोक्न नसक्नेसमेत बताए। ‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशनपछि आउला,’ उनले भने, ‘यहाँबाट उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुहोस्। १५ गते के–के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। यति परिचालन भएर जनता ल्याउँदा कसले थाम्छ रु  कसले रोक्छरु’ उनले राजावादी, प्रतिगामी शक्तिको कडा आलोचना गरेका छन्।

पार्टीका प्रचार तथा प्रशारण विभाग प्रमुख राजेन्द्र गौतमले जेठ १५ गते विशेष उत्सव रूपमा मनाइने बताए। उनका अनुसार उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिका स्तरमा विशेष कार्यक्रमहरू आयोजना गर्ने निर्णय पनि गरेको छ। बैठकले त्यसको तयारीमा जुट्न सबै मातहत कमिटीहरूलाई निर्देश गरेको छ।

काठमाडौं उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीहरूको आयोजनामा साँस्कृतिक झाँकीसहित जनउत्सव आयोजना गरिनेछ। उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले सम्पूर्ण नेपाली जनसमुदायलाई आह्वान गरेको छ।

खबरपाटी
खबरपाटी