सर्वसम्मतको नाममा ‘जबरजस्ती’ गर्न खोजेको आरोपपछि युवासंघको नेतृत्व चयन अन्योल

सर्वसम्मतको नाममा ‘जबरजस्ती’ गर्न खोजेको आरोपपछि युवासंघको नेतृत्व चयन अन्योल

काठमाडौं  । अहिले पनि केन्द्रीय नेताहरूलाई सोध्ने हो भने युवा संघको निर्वाचन सर्वसम्मत टुङ्गिन्छ भन्न छोडेका छैनन् । रातोपाटीसँग कुरा गर्दै इन्चार्ज राजीव पहारीले भने, ‘सर्वसम्मतको प्रयास भइरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुनेमा विश्वास छ । हामी लागिरहेका छौँ ।’ सर्वसम्मत नामावली घोषणा गर्न तयारी भएकैले अहिलेसम्म निर्वाचन प्रक्रिया अघि बढेको छैन ।

निर्वाचन समितिले अध्यक्ष मण्डललाई शनिबार साँझ ६ बजेसम्मको समय दिएर सर्वसम्मतको प्रयास गर्न भनेको थियो । पूर्व अध्यक्षहरु भानुभक्त ढकाल, महेश बस्नेत र राजीव पहारी सदस्य रहेको समिति बनाइएकोमा उनीहरुले सर्वसम्मत नामावली दिन नसकेका हुन् । 

आइतबार नै सबै प्रक्रिया पूरा गरेर नयाँ कमिटी तयार गर्ने घोषणा गरेका इन्चार्ज पहारी सोमबारसम्म लाग्न सक्ने बताउँछन् । ‘आजै सक्ने भनेको हो । सर्वसम्मत भए त अझै १२–१४ घण्टा समय छ । तर सर्वसम्मत नभए भोली पनि लाग्ने भयो,’ उनले भने, ‘यति ठुलो सङ्गठनमा दाबी धेरै आउनु स्वाभाविक हो । सबैको चार्म युवा संघमा छ भन्ने यसैले पुष्टि पनि गरेको छ नि ।’


त्यसपछि निर्वाचन समितिले आइतबार बिहानदेखि मनोनयन प्रक्रिया सुरु गर्ने भनेको थियो । अहिलेसम्म मनोनयन हुन सकेको छैन । शनिबार राती अबेरसम्म उम्मेद्वारहरुले आ–आफ्नो पक्षमा नाराबाजी लगाए । एक पक्षले हालकै अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने माग गरे भने अर्को पक्षले निर्वाचनको माग गरे । स्रोतका अनुसार अध्यक्ष थेबे र हालका महासचिव सुमन पुरीबिच नेतृत्वमा प्रतिस्पर्धा हुने लगभग पक्का छ । यद्यपि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थेबेको नाममा सर्वसम्मत गर्न नेताहरूलाई दबाब दिएका छन् । 

‘सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने अनि नाम पनि माथिबाटै पठाएपछि निर्वाचन प्रक्रिया अघि बढेको छैन । निर्वाचनमा खटिएका एक नेताले भने, ‘यो हदसम्मको जबरजस्ती गरेर कस्तो नेतृत्व ल्याउने हो रु कसको नेतृत्व ल्याउने हो रु कमसेकम प्रतिनिधिले आफ्नो नेता छान्न पाउने अधिकार किन दिइँदैन रु’ निर्वाचन प्रक्रिया अझै अनिश्चित छ । 

युवा संघका पूर्व उपाध्यक्ष माधव बास्तोलाले महाधिवेसन अब निर्वाचनतर्फ सोझिएको बताए । ‘सर्वसम्मतको प्रयास टुटेको जस्तो छ । प्रयास त अहिले पनि गरिरहनुभएको छ । तर खासै प्रभावकारी हुने देखिएन,’ उनले भने, ‘अब निर्वाचनतर्फ सबै प्रतिनिधिको मन गैसकेको छ । निर्वाचन प्रक्रिया सुरु हुन्छ होला ।’ थेबे र पुरीसँगै हालका उपाध्यक्ष महाराजा गुरुङ, प्रकाश केसी र युवा संघको युवा विज्ञ परिषद् प्रमुख मदन भण्डारीले पनि अध्यक्षमा आकांक्षा गरेका छन् । 

पहिला थेबेलाई नदोहोर्‍याउने अभिव्यक्ति दिएका युवा संघका इन्चार्ज राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेत लगायतको टोली पनि अहिले थेबेकै पक्षमा खुलेका बताइएको छ । पुरीलाई पूर्व अध्यक्ष रमेश पौडेल, बचनबहादुर सिंह लगायतको साथ छ । उनी विष्णु पौडेल निकटका हुन् । महाराजा चाहिँ पार्वत गुरुङका भान्जा हुन् । 

अझै प्रतिनिधिमै विवाद

महाधिवेसनको प्रक्रिया ठप्प हुनुमा प्रतिनिधि चयनमा भएको विवाद पनि हो । १ हजार ८ सय ३५ प्रतिनिधि सहभागी हुनुपर्नेमा केही ठाउँमा विवाद भएपछि नाम टुङ्ग्याउन समस्या परेको हो । उम्मेदवारका आकाङ्क्षीहरूले पहिला प्रतिनिधिको टुङ्गो लगाउन र छिनो प्रक्रिया अघि बढाउन दबाब दिएका छन् । ‘प्रतिनिधिमा विवाद देखियो । अब प्रतिनिधिको टुङ्गो लगाएर मात्रै महाधिवेशन प्रक्रिया अघि बढ्छ,’ अध्यक्षका एक आकाङ्क्षीले भने, ‘अहिलेसम्म महाधिवेशन अघि बढ्न सकेको छैन ।’

यसैबिच, मतदानका लागि मेसिन भने पोखरा आइसकेको छ । ४६ वटा मेसिनबाट मतदान हुने र उक्त मेसिन पोखरा आइसकेको युवा संघले जनाएको छ । यसपालि पदाधिकारीको संख्या घटाइएको छ । साबिक १७ बाट घटाएर ९ बनाउन लागिएको छ । उमेर सीमा ४० वर्षमा सीमित गरिएको पहारीले बताए । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ समिति चयन गर्नेछ ।

खबरपाटी
खबरपाटी