काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र० ले पूर्वराजालाई कारबाही गर्नुभन्दा पनि भ्रष्टाचारीलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले सो कुरा बताएका हुन् ।
‘सरकारमा रहेका दलहरूलाई ठूलो डर छ राजाले कुन दिन लगेर थुन्नुहन्छ भनेर । बेलाबेलामा कराइ राख्नुहुन्छ,’ शाहीले भने । उनले एमाले सांसद ठाकुर गैरेलाई पनि जवाफ दिए । आइतबारको संसदमा एमाले सांसद गैरेले श्री ५ बडामहाराजधिराज भनेर विज्ञप्ति निकाल्नेमाथि कारबाहीको माग गरेका थिए ।
‘भन्नुहुन्छ कहिले राजालाई समितिमा ल्याऊ । विधान नै पढ्नु हुन्न हाम्रो संसदमा नियमावली बनाइएको छ । नियमावलीले राजालाई समितिमा बोलाइने छैन भनेर सरकारका प्रवक्ताले भनिसक्नुभएको छ,’ उनले भने, ‘तपाईंले बनाएको कागजको खोस्टोमा श्री ५ महाराजधिराज हुनुहुन्न तर नेपालीको मन मनमा हुनुहुन्छ श्री ५ महाराजधिराज ।’
शाहीले १५ चैतको भाटभटेनी लुटपाटमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनेले कांग्रेसको सहमहामन्त्रीको छोराको संलग्नता रहेको भनेको तर नाम नतोकेको बताए । ‘कसले चोरे भन्नुभएको छैन । पहिला पहिला उखान हुन्थ्यो चोरको खुट्टा काट भन्दा चोरले आफ्नो खुट्टा लुकाउँथ्यो र आज संसदमा त्यही भयो,’ शाहीले भने ।