ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको एक जीपमा करेन्ट लागेर आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० तेर्सेमा आइतबार बिहान करिब ४ः५० बजेतिर उक्त घटना भएको हो ।
प्रारम्भिक जानकारी अनुसार, फुङ्लिङ बजारबाट तीर्थयात्री लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा बिजुलीको पोलबाट लत्रिएको तार छुँदा आगलागी भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा जीप चालक फुङ्लिङ घर भएका ४५ वर्षीय दुर्गा भट्टराईसहित चारजना रहेका छन् ।
मृत्यु हुने अन्यमा ललितपुर घर भएकी १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल र मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल रहेका छन् । तीर्थयात्रीहरू ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको बताइएको छ।
यस दुर्घटनामा ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएकी छन् भने उनका नौ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले गम्भीर घाइते सविनाको शरीरको धेरै भाग जलेको र उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि लैजाने तयारी भइरहेको जानकारी दिए ।
सामान्य घाइते बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । इन्सपेक्टर बस्नेतले घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको बताए ।