काठमाडौँ- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूले सडकमा रमिता देखाइरहेको बताएकी छिन्।
शिक्षकहरू विगत लामो समयदेखि गरिरहेको सडक आन्दोलनप्रति लक्षित गर्दै नेतृ झाँक्रीले सामाजिक सञ्जालमा ‘अब चाहि शिक्षकहरूको रमिता बढी भयो’ लेखेकी छन्
आफूले सडकलाई नजिकबाट हेरिरहेको र आफूले आन्दोलनबारे चासो राखेको उनले बताएकी छन्। तर संवादमै नआउने शिक्षकहरूको भनाइमा उनले तिब्र असन्तुष्टि जनाएकी छन्।
पूर्व विद्यार्थी नेतृसमेत रहेकी झाँक्रीले लेखेकी छन्, ‘शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसंग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे? शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?’
उनी थप लेख्छिन्, ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले? भर्नाको बेला विधालय बन्द गरेर लाखौं विधार्थीको भविष्य अन्योल बनाउन मिल्छ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन। यहाँहरूले पढाएका कयौं विधालयको BLE को रिजल्ट शून्य छ। के यो विषयमा चिन्चित हुनहुन्छ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ। सरोकारवाला सबैको चासो पनि छ । शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितीमा दफावार छलफलमा छ। विधेयक संसोधन सहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो। अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ। समितिले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर/मेडमहरू अब विधालयमा फर्कनुस्। आफ्नो जिम्मेवारी बहन गर्नुस। सरकार र संसदलाई विश्वास गर्नुस्। जिम्मेवार नेता साथीहरू! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस् बल र कोर्ट दुबै तपाईंकै खुट्टामा छ ।‘