सुर्खेतको कालिञ्चोक क्रिकेट स्टेडियममा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको राज्यस्तरीय छनोट खेलमा कालिकोटले विजयी सुरुवात गरेको छ। पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै कालिकोटले सल्यानलाई ४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको कालिकोटले २५ ओभरमा १४६ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्यो । टिमका लागि कमल विष्टले सर्वाधिक ४५ रनको योगदान गरे भने अभिषेक बम र आर्यन रावल दुवैले समान २७ रन जोडे । यस्तै, नबिन न्यौपानेले १६ रन बनाउँदै टिमलाई मजबुत अवस्थामा पुर्याए ।
१४७ रनको लक्ष्य पछ्याएको सल्यानको ब्याटिङ धराशायी बन्यो । १७.३ ओभरमा सम्पूर्ण विकेट गुमाएको सल्यानका लागि बिक्रम रोका मात्र केही समय टिक्न सके, जसले ३७ रन बनाए। अन्य कुनै पनि खेलाडी दोहोरो अंकमा रन बनाउन असफल भए ।

कालिकोटका बलरहरूले शानदार प्रदर्शन गर्दै सल्यानलाई ठूलो अन्तरले पराजित गरे। सुमित बुढाथोकीले ४ विकेट लिए भने नबिन न्यौपानेले ३ विकेट झारे। पवन सञ्ज्यालले २ विकेट र सुनिल शाहीले १ विकेट लिएर बलिङ पक्षलाई मजबुत बनाए। आफ्नो उत्कृष्ट प्रदर्शनका लागि नबिन न्यौपाने “प्लेयर अफ द म्याच” घोषित भए।
यो जितसँगै कालिकोटले राज्यस्तरीय छनोट खेलमा आफ्नो पकड मजबुत बनाएको छ। अब कालिकोटले अर्को खेलमा समेत आफ्नो लयलाई निरन्तरता दिने लक्ष्य राखेको छ।
