पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न राजनीतिक दललाई आह्वान गरेका छन्। उनले देशलाई अहिले स्थितिबाट पार लगाउन राजा फर्काउनुपर्ने बताए।
जनताले युवा बेचेर नेता पाल्ने काम गर्न नसक्ने उनको भनाइ थियो। ‘त्यसकारण दलहरु चाँडो सच्चिनु। नत्र भए नेताहरुलाई थाहा होला निर्मल निवास र नारायणहिटीको दूरी कति छ रु हामी जसरी तपाईंहरुले राजालाई जर्बजस्त विस्थापित गर्नुभो निर्मल निवासबाट डो¥याउँदै डोर्याउँदै नारायणहिटी पुर्याउन तयार छौं। त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन’, उनले चेतावनि दिए। गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका लागि ठूला दलहरुले के बाट परिचालित थिए फटाफट बाहरि आइरहेको उनले उल्लेख गरे।
शुक्रबार भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीले पोखरामा आयोजना गरेको वृहत विरोध सभामा बोल्दै लिङ्देनले राजालाई ल्याएर देशलाई पछाडि फर्काउन नभइ सुधार गर्न लागेको दाबी गरे।
‘हामीले पछाडि फर्कने भनेको होइन। राजाको चहाना पनि पछाडि फर्कने होइन। हामी सबको चाहना देश अब यहीं स्थितिमा रही राख्न सकिदैन’, उनले भने, ‘देश अब यही बाटोबाट हिँडिराख्न सक्दैन। र अब हिजोका पनि राम्रा कुराहरु आजका पनि केही राम्रा कुराहरु सबैलाई समेटेर नयाँ बाटो तय गर्नुपर्छ।’
लिङ्देनको आह्वान छ, ‘नयाँ समझदारी गरौं। जहाँ राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न सकौं। र सबै मिलेर देशलाई विकास गरौं। म यो आह्वान गर्न चाहन्छु। दलहरुले ढिला नगर्नुस्।’
उनले माओवादी भन्दा पनि कांग्रेस एमालेलाई राजा ल्याउने विषयमा सोच्नुपर्नेमा जोड दिए। माओवादीको सबै एजेन्डा बोक्न तयार दल भएको उनले जिकिर गरे। ‘तपाईहरु त्यो पार्टी हो जसले ०५२ साल फागुन १ गते तत्कालिन माओवादीहरुले संविधान सभाको माग गरेर आउँदाखेरि संविधानसभाको चुनावसम्म स्वीकार गर्नुभएन। माओवादी विद्रोहमा गयो’, लिङदेनले थपे, ‘१० वर्षे द्वन्द्व, हिंसा, रक्तपात, ठूलो नोक्सानीपछि तपाईंहरुले संविधान सभामात्रै स्वीकार गर्नुभएन। माओवादीका सबै एजेन्डा स्वीकार गर्नुभो। गणतन्त्र पनि स्वीकार गर्नुभो, धर्म निरपेक्षता पनि स्वीकार गर्नुभो। संघियता के–के हो माओवादीको सबै एजेन्डा बोक्न तयार हुनुभो। त्यसकारण म आशा गर्छु तपाईंहरु लचिलो पार्टी हो।’
अहिले पनि कांग्रेस एमालेले हिजो गल्ती भएछ भन्ने स्वीकार गर्ने उनको विश्वास छ। ती दलले देशलाई निकास दिने अपेक्षामा रहेको बताए। तर, देशलाई जर्बजस्त यसरी नै लान्छु भन्ने ठानेको भए सम्भव नरहेको उनको ठम्याइ छ। ‘देश यसरी चल्दैन र जनता पनि चुप लागेर बस्दैन। र राष्ट्रिय प्रजातन्त्र पार्टीले तपाईंहरु विरुद्धको आन्दोलनको नेतृत्व गर्छ। हाम्रो आग्रहलाई कमजोर ठान्नुभो भने याद राख्नुस् छिनोफानोका लागि सडकमा आउन बाध्य हुन्छौं’, उनले धम्काउन भ्याए।
पोखरामा लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गरे। उनले सांसद मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए। ‘सांसदले मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्यो। सांसदले मन्त्री हुन नपाउने व्यवस्था भइसकेपछि अनि नेतालाई पैसा दिएर टिकट लिन कोही जान्छ त रु सांसदले मन्त्री हुन नपाउने व्यवस्था भएपछि मान्छे किनेर भोट जित्न कोही जान्छ त रु’, प्रश्न तेर्साउदै उनको सुझाव छ, ‘देश एउटा निर्वाचन क्षेत्र हुन्छ। पार्टीहरुले कस्तो घोषणा पत्र ल्याउँछन्। र पार्टीहरुले कस्तो ऐन कानुन बनाउन खोजेका छन् रु त्यसमा कस्ता मानिसहरुको सूची राखेका छन् त्यो हेरेर दललाई पार्टी मान्छेले भोट दिन्छन्।’
पूर्वको पाथिभरामा सरकार आफैं जनतासँग भिडन्तमा ओर्लेको टिप्पण लिङदेनको छ। ‘पूर्वमा अहिले मारामार चलिराखेको छ। पूर्वमा सरकार आफैं जनतासँग भिडन्तमा ओर्लेको छ। तपाईहरुले सुन्नुभाछ मुक्कुमलुङ पाथिभरा भनेर। त्यहाँ केबलकार बनाउने नाममा आज ठूलो द्वन्द्व भइराखेको छ। अहिले यतिबेला पनि त्यहाँ हिंसात्मक काम भइराखेको छ। मारामार गोली चलेको छ ’, उनको आरोप थियो