काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशकी स्पिनर सोहली अख्तरलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । सन् २०२३ को महिला टी( २० विश्वकप क्रिकेटमा म्याच फिक्सिङमा दोषी ठहर गर्दै ५ वर्षको प्रतिबन्ध लगाइएको हो ।
उनी करप्सनका कारण प्रतिबन्ध लाग्ने पहिलो महिला क्रिकेटर पनि बनेकी छन् । उनले आफ्नो गल्ती स्वीकारेको बताइएको छ । उनीमाथि लगाइएको प्रतिबन्ध १० फ्रेब्रुअरी २०२५ देखि सुरु हुनेछ । यो प्रतिबन्ध फेब्रुअरी २०३० सम्म जारी रहने आईसीसीले जनाएको छ ।
सोहलीले १४ फेब्रुअरी २०२४ मा अस्ट्रेलियासँगको खेलअघि आफ्ना साथी खेलाडीलाई म्यासेज पठाएर फिक्सिङ गर्न उक्साएको बताइएको छ । उनका एक आफन्तले मोबाइलमा सट्टा लगाउने गरेको र त्यसैको स्वार्थमा उनले फिक्सिङको प्रयास गरेको भास्करले समाचार प्रकाशित गरेको छ ।
तर, सोहलीले यस्तो प्रस्तावसहित पठाएको भ्वाइस मेसेज उनकी साथी खेलाडीले अस्वीकार गरेकी थिइन् । त्यसपछि उनले उक्त मेसेजसहित आईसीसीमा उजुरी दिएकी थिइन् । त्यसपछि यो कारबाही प्रक्रिया अघि बढेको हो ।
३६ वर्षीया सोहलीले बंगलादेशका लागि २ एकदिवसीय तथा १३ टी( २० खेल खेलेकी छन् । ती खेलहरूमा उनले ११ विकेट लिएकी छन् ।