
काठमाडौं । सप्तरी प्रहरीले सर्वसाधारणसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी धन्दा चलाउने गिरोहमा संलग्न रहेको आरोपमा सोमवार एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका ३ निवासी ३६ वर्षिया समिना खातुन छिन । उनलाई ठगी तथा अपराधिक विश्वासघात कसुर मुद्दामा अनुसन्धानका लागी सुनसरीस्थित उनको होटलबाट पक्राउ गरी सप्तरी ल्याइएको प्रहरीले जनाएको छ ।
सोमवार नै उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्रकुमार वस्नेतले जानकारी दिए ।
प्रहरीेले यस अघि उक्त गिरोहका मुख्य नाइकै भनिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का हनुमानी भन्ने रामबहादुर रजकलाई गत पुष ७ गते पक्राउ गरेको थियो ।
प्रहरीले सोही प्रकरणमा अनुसन्धानका लागी ७ दिन अघि पत्रकार बैद्यनाथ यादवलाई पनि नियन्त्रणमा लिएको थियो । लामो समयदेखी हनुमानी गिरोहले सप्तरी र आसपासका क्षेत्रमा रकम दोब्बर पारिदिने भन्दै एजेन्टहरु मार्फत ठगी धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ ।
सोमवार नै प्रहरीेले ५ वर्षदेखी फरार रहेका डाँका मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । राजविराज ४ मा २०७६ साल माघ १० गते भएको डाँका घटनामा संलग्न रही फरार भएका राजविराज ६ निवासी आफताव भन्ने अलताफ शेखलाई प्रहरीले घर टोल मै लुकि बसेको अवस्थामा पक्राउ गरेको हो ।
उक्त मुद्दामा सप्तरी जिल्ला अदालतले शेखलाई दोषी ठहर गर्दै ३ महिना कैद र १० हजार रुपैया जरिवाना तोकेको थियो । घटना लगतै उनी फरार रहेको र सोमवार नै उनलाई अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।