
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २ करोड ७० लाख रुपैयाँ बिगो कायम गर्दै चितवन जिल्ला अदालतमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता भएको छ ।
मंगलबार दर्ता भएको मुद्दामा लामिछानेविरुद्ध कुल बिगो २ करोड ७० लाख ४ हजार ५३७ रुपैयाँ कायम गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलका अनुसार गोरखा मिडियामा चार जना प्रतिवादीले कुल १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ ठगी गरी लगेको पाइएको हो ।
‘चार जना प्रतिवादीहरू जीबी राई, छविलाल जोशी बन्जाडे, लक्ष्मीप्रसाद पौडेल र रवि लामिछाने गरी कुल चार जना प्रतिवादीले १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगी गरी गोरखा मिडियामा लगेको देखिएको छ,’ लुइँटेलले लोकान्तरसँग भने, ‘दामासाहीको दरमा चारै जनाविरुद्ध जनही २ करोड ७० लाख ४ हजार ५३७ रुपैयाँ बिगो कायम हुन आउँछ ।’
५२ करोड रुपैयाँ उक्त सहकारीका बचतकर्ताको ठगी भएकोमा ३८ करोड ९ लाख रुपैयाँ बिगो कायम गरी कम्पनीसहित कुल ३२ जनाविरुद्ध मुद्दा दायर भएको लुइँटेलले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले सोमबार नै अभियोजन पेश गरे पनि मंगलबार मात्र मुद्दा दर्ता भएको हो । अभियोजन पत्रमा लामिछाने समेतको हस्ताक्षरमा संयुक्त सञ्चालन हुनेगरी खाता खोलेको दिनदेखि नै कानूनी दायित्व शुरू भएको देखिने दाबी गरेको छ ।
सहकारी ठगी सम्बन्धमा लामिछानेविरुद्ध दर्ता भएको यो चौथो मुद्दा हो । यसअघि कास्की, काठमाडौं र रूपन्देहीमा मुद्दा चलिसकेको छ । तीनवटै अदालतबाट लामिछाने धरौटीमा रिहा भएका छन् ।
सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका थिए ।
लामिछानेविरुद्ध पर्सामा समेत प्रहरीले बयान लिएको थियो ।