बाढी पीडित त्रिपालको भरमा , संघले सहयोग गर्ने आशमा स्थानीय सरकार

बाढी पीडित त्रिपालको भरमा , संघले सहयोग गर्ने आशमा स्थानीय सरकार

काठमाडौं । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन् । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि  विस्थापित भएका उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन् ।

प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले घरखेत सबै बगाएपछि उनीहरू बिचल्लीमा परेका हुन् ।

भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन् । अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताए ।

त्यस्तै सुकुमाया सिङतानको पीडा पनि कम छैन । भएको सबै अन्नपात र घर खेत बाढीले बगाएपछि सोही टहराको सहारामा दिनहरू बिताइरहेकी उनले बाढीपहिरोबाट आफूहरू विस्थापित भएपछि बस्न र खाना समस्या भएको बताइन् ।


बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँका बस्ती नै विस्थापित भएको छन् । गाउँपालिकाले दिएको त्रिपाल खाद्यान्न र ओढ्नका लागि कम्बललगायतको सामग्री उपलब्ध गराएपछि त्यसैको साहरामा दिन बिताउँदै आएको उनीहरूको भनाइ छ ।

पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका प्रकाश सिङतानलगायत भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको मुस्लो पसेको चनौटे बस्ती हेर्दै खुल्ला आकाशमुनि त्रिपालको बासमा आश्रय लिइरहेका छन् ।

बर्खामा बाढी आएर बगाउँला कि भन्ने पीर, अब हिउँद लागेपछि हावाहुरीले उडाउने पो हो कि भन्ने पीरले सताउन थालेको उनीहरूले बताए । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न संघीय सरकारसँग आवश्यक समन्वय गरिरहेको बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा सरकारले घर बनाउन बजेट दिएपछि उहाँहरूसँग एक टुक्रा पनि आफ्नो भन्ने जमिन छैन । जिल्ला प्रशासन र सहरी विकास तथा भवन विभागबाट जग्गाको व्यवस्थापन कस्तो छ भनेर पत्र आएपछि हामीले सामुदायिक वन क्षेत्रभित्र पर्ने तर रूख बिरुवा केही नभएको खाली जग्गा विकल्पमा हुनसक्छ भनेर सुझाव लेखेर पठाएका छौँ ।’

अहिलेसम्म पनि संघीय सरकारको अस्थायी घर निर्माण गर्न दिने भनेको ५० हजार र स्थायी आवास निर्माणको जिम्मा लिएर काम गरेका कुनै पनि संघ संस्थाको सहयोग प्राप्त नभएको पालिकाले जनाएको छ । पालिकाभित्र ५० घरधुरी पूर्ण क्षति भएकामा ती घरपरिवारको लागि पनि कुनै व्यवस्थापन गर्न नसकेको अध्यक्ष थिङले बताए ।

गाउँले जीवन, सम्पत्तिको नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, अन्न उब्जाउ गर्ने बारी र खेत सबै बगाएपछि चनौटेका बस्ती नै विस्थापित भएको छ । जहाँ विद्यालयमा अध्ययनरत बालबालिकासमेत रहेका छन् ।

खबरपाटी
खबरपाटी