काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पनि परिवारको जिम्मा लगाइएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयान भइ बिहीबारदेखि थुनछेक बहस शुरू भएको थियो ।
शुक्रबार पनि थुनछेक बहस नसकिएकाले आइतबार पुनः अदालतमा उपस्थित गराउने गरी वकिल र पत्नी निकिताको रोहबरमा रविलाई जिम्मा लगाइएको स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।
शुक्रबार जाहेरीकर्ताको तर्फबाट डा। सुरेन्द्र भण्डारी, आरसी गौतम लगायतले बहस गरेका थिए ।
प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन् ।
सुप्रिम सहकारीको २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गोरखा मिडियामा प्रवाह भएको तथ्य सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
प्रहरी अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले माघ ६ गते रविविरुद्ध पूरक जाहेरी दर्ता गरेको थियो ।