अष्ट्रेलियासँग फराकिलो हार व्यहोर्दै नेपाल विश्वकपबाट बाहिरियो

अष्ट्रेलियासँग फराकिलो हार व्यहोर्दै नेपाल विश्वकपबाट बाहिरियो

काठमाडौं । नेपाल जितविहीन हुँदै आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो ।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको एक सय ४० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ५६ रनमै रोकिएको हो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक १८ रन जोडिन् । उनले ४२ बलमा सामना गरेर १८ रन जोडेकी हुन् । त्यस्तै ओपनर सना प्रविनले २२ बलमा ८ रन, अर्की ओपनर सावित्री धामीले ७ बलमा ८ रन जोड्दा सिमाना केसीले १५ बलमा ६ रन मात्रै बनाउन सकिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको थियो ।


अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन् । उनले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कप्तान पुजा महतोले तीन विकेट लिइन् भने सिमना केसीले दुई र रिया शर्माले एक विकेट झारिन् ।

सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि नेपालले एक खेल जित्नैपर्ने थियो । तर, नेपालले तीन वटै खेल गुमायो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । समूह ‘डि’को सबैभन्दा बलियो टोली अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ ।

खबरपाटी
खबरपाटी