खो–खो विश्वकप उपविजेता टोली १४ करोड पुरस्कारको हकदार

खो–खो विश्वकप उपविजेता टोली १४ करोड पुरस्कारको हकदार

काठमाडौं । सचिव घिसिङले पूरा टिमको मिहिनेतले विश्वकपमा ऐतिहासिक सफलता सम्भव भएको बताए । उनले उमेर समूहका खेलाडीलाई मध्यनजर गर्दै राखेपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रममा खो–खो समावेश गरिएको जानकारी गराए ।


पुरुष कप्तान हेमराज पनेरु र महिला कप्तान सरस्वती कडायतले पदक जित्ने लक्ष्यसाथ विश्वकपमा सहभागी भएको स्मरण गराउँदै हाम्रो सफलता देशका लागि ऐतिहासिक उपलब्धि बनेकोमा गौरव महसुस भएको बताए ।

सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा व्यवस्था भएबमोजिम नै खेलाडीलाई पुरस्कृत गरिने बताए । त्यसका लागि १५ दिनभित्र आवश्यक कागजात पेस गर्न खो–खो संघलाई निर्देशन दिएका छन् ।


नियमावलीमा के छ पुरस्कार रु

नियम २८ को उपनियम (३), (६) र (६) सम्बन्धित भनेर ओलम्पिक, एसियाली, दक्षिण एसियाली खेलकुद तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त अन्य खेलकुद प्रतियोगितामा पदक जित्नेलाई प्रदान गरिने पुरस्कार रकम तोकिएको छ ।

अन्तर्राष्ट्रिय महासंघ (आईएफ) विश्व च्याम्पियनसिपअन्तर्गत तोकिएको पुरस्कार खो–खो विश्वकप उपविजेता टोलीले दाबी गर्न पाउनेछ । सामूहिक प्रतिस्पर्धा रहेकाले रजत जितेका खेलाडीले जनही ४५ लाख रुपैयाँ पाउनुपर्ने हुन्छ । स्वर्ण हुन्थ्यो भने जनही ५२ लाख थियो ।

प्रशिक्षकको ७ लाख ८० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियोको ३ लाख ९० हजार तथा खेल संघको १५ लाख ६० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

दुई टिममा १५–१५ गरी ३० खेलाडी विश्वकपमा सहभागी छन् । खेलाडीले जनही ४५ लाखको दरले पाउँदा १३ करोड ५० लाख हुनेछ । दुई प्रशिक्षकले १५ लाख ६० हजार तथा दुवै टिमका छुट्टै सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ६ जनाले २३ लाख ४० हजार पाउनेछन् ।

खो खो संघको भागमा १५ लाख ६० हजार पर्नेछ । नियमावलीमा व्यवस्था भएको पुरस्कार दिइँदा झन्डै १४ करोड ४ लाख ६० हजार रुपैयाँ खो–खो टिमले हात पार्नेछ ।

यसै नियमावलीमा टेकेर एसियाडका पदक विजेता र क्रिकेट खेलाडीहरूले पुरस्कार लिइसकेका छन् ।

खबरपाटी
खबरपाटी