कोसी प्रदेशसभाको शून्य समय : हात्ती समस्या र पुनर्निर्माणबारे सरकारसँग जवाफ माग

कोसी प्रदेशसभाको शून्य समय : हात्ती समस्या र पुनर्निर्माणबारे सरकारसँग जवाफ माग

काठमाडौं । कोसी प्रदेशसभामा बोल्ने सांसदहरूले हात्तीको समस्या तथा असोजमा आएको बाढीको विषय उठान गरेका छन्। मंगलबार बसेको कोसी प्रदेशसभाको शून्य समयमा बोल्दै सांसदहरूले पछिल्लो समय झापा, मोरङ र सुनसरी जिल्लामा हात्ती आतंकका कारण नागरिकले सास्ती पाएको बताएका हुन्। 


झापाका सांसद तिलचन पाठकले हात्तीको समस्याको बारेमा लामो समयदेखि आवाज उठाउँदै आएको भए पनि सरकारले सम्बोधन गर्न नसकेको बताए। ‘अहिले पनि हात्ती आतंक छ, मानिसको ज्यानैसम्म लिने घटनाले जनता आतंकित भएका छन्,’ उनले भने, ‘क्षति त लामो समयदेखि बेहोर्दै आएकै थिए, अहिले  ज्यानै लिने खालको घटनाले जनता त्रसित छन्।’  

प्रदेश सभासदस्य शोभा चेम्जोङले हात्तीको आक्रमणबाट दर्जनौँको मृत्यु र करोडौँको क्षति भएको जानकारी गराइन्। ‘एक महिनामा ३ जनाको मृत्यु भएको छ’, उनले भनिन्, ‘पिउने पानी र खानाको लागि हात्ती बस्ती र गाउँमा आउन थालेपछि स्थानीयले जाग्राम बस्नुपर्ने बाध्यता छ।’ 


हात्ती आक्रमणबाट बच्न स्थानीय तह र स्थानीयलाई नै त्यसबारे जागरूक गराउने काममा प्रदेश सरकारले  सहयोग गर्नु पर्नेमा उनले जोड दिइन्। हात्ती र मानव द्वन्द्व समाधानका लागि प्रदेश सरकारलाई गम्भीर बन्नुपर्ने बताइन्।

प्रदेशसभा सदस्य भीम पराजुलीले हात्तीको आक्रमणबाट सुन्दर हरैँचा ८ का हरिप्रसाद घिमिरेको मृत्यु भएको भन्दै सदनलाई जानकारी गराए। उनले हात्तीको आक्रमणबाट मृत्यु भएका घिमिरेको परिवारलाई  क्षतिपूर्ति दिन आग्रह गरे। उनले किसानलाई मल खाद उपलब्ध गराउन र सङ्खुवासभाको सभापोखरीमा भएको आगलागी प्रभावितलाई राहात उपलब्ध गराउन आग्रह गरे।


असोजको क्षति माघमा जवाफ खोज्दै
प्रदेश सभाका सदस्यहरूले असोजमा आएको बाढीको क्षति अहिलेसम्म नागरिकले पाउन नसकेको तथा क्षति भएका संरचनाको पुनर्निर्माणमा सरकारले ध्यान दिन नसकेको बताए। 

पाँचथरका सांसद कमलप्रसाद जबेगुले फालेलुङको हेवाखोलाले धेरै सडक पुलहरू गतबर्ष र यो वर्षको वर्षाले बगाएको भए पनि पुनर्निर्माणको लागि कामै अघि नबढेको बताए।  उनले विपद् तथा राहत कोषमा पूर्वाधार कार्यालय पाँचथरमा पठाइएको रकमको बारेमा अर्थमन्त्रीको जवाफ माग गरे। 

अर्का सांसद गोविन्द गिरीले असोजमा आएको बाढी पहिरोले ठूलो क्षति भएकोले अहिले पनि सडक सहज सुचारु हुन नसकेको बताए। चारआलीबाट ताप्लेजुङ जाने सडकको इलाम नगरपालिका( ९ मा असोजको बाढीले क्षति भएको सडक मर्मत नहुँदा  यात्रुले अहिले पनि सास्ती खेप्नै बाध्य भएको बताए।   

पाँचथरकी सांसद मैयाँ श्रेष्ठले असोजमा आएको बाढीका कारण नागरिकले पाएको सास्तीमा सरकारले राहत र पुनर्निर्माणको काममा चासो नदिएको बताइन् । ‘असोजको समस्या अहिलेसम्म पनि सम्बोधन हुन सकेको छैन, माघको पहिलो हप्ता गई सक्यो’, उनले भनिने, ‘त्यो बेलाको समस्या अहिले नै समाधान गर्न सकिएन भनेँ अर्को वर्ष निक्कै गाह्रो हुने अवस्था देखिँदै छ।’ 

राहत र पुनर्निर्माणको पर्खाइमा रहेका नागरिकहरू चिसोमा कष्टकर जीवन बिताईरहेको उनले बताइन्। जनतालाई सरकार चाहिएको बेला सरकार जनतासम्म पुग्न नसकेको उनको गुनासो छ। 

झापाकी प्रदेशसभा सदस्य सविना बजगाईँले झापाको बिर्तामोडमा आफ्नै घरमा काम गर्न राखेको बालिकामाथि बलात्कारको आरोपमा जिल्ला अदालतबाट थुनामा राख्न आदेश दिएको व्यक्ति अहिले पनि अस्पतालमा बसेको भन्दै पीडितले न्याय नपाएको महसुस गरेको बताइन्। 

सोलुखुम्बुका सांसद गम्बु शेर्पाले नसर्ने रोगको स्वास्थ्य सहायता दिने भन्ने यस अघिको बजेट व्यवस्था र विनियोजन भएको ७ महिनामा पनि सम्बन्धित कार्यविधि नबनेको तथा कार्यान्वयनमा नगरेको भन्दै उनले सरकारसँग प्रश्न गरे। 

सुनसरीका सांसद रामदेव यादवले किसानलाई मल खादको व्यवस्था गरिदिन सरकारसँग माग गरे । ‘मल खादको हाहाकार छ, युरिया आउँदा डिएपी नपुग्ने, डीएपी हुँदा युरिया नपुग्ने समस्या छ’, उनले भने, ‘पटक(पटक कृषि मन्त्रालयमा भन्दा पनि वास्ता गरिएको छैन। यहीँबाट संघीय सरकारको पनि ध्यानाकर्षण गराउँछु।’
 
शून्यसमयमा नाम टिपाएकी प्रदेशसभा सदस्य निरादेवी खनाल प्रदेशसभा भित्रै भए पनि बोल्न मानिनन्। 

खबरपाटी
खबरपाटी