पीएम कप महिला क्रिकेटमा बागमतीमाथि कोशीको जित

पीएम कप महिला क्रिकेटमा बागमतीमाथि कोशीको जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ मा कोशी प्रदेशले विजयी सुरूवात गरेको छ । आइतबार भएको समूह बी को पहिलो खेलमा कोशीले बागमती प्रदेशलाई १० रनले हराएको हो ।

१३ ओभरमा झारिएको खेलमा कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमती ५ बल अगावै ५३ रनमा अलआउट भयो। ओपनर सबिका यादवले सर्वाधिक २० रन बनाइन् ।


कोशीका लागि कप्तान रुबिना क्षेत्री, संगिता राई र ज्योति दनुवारले २(२ विकेट लिए भने निशा शाहले एक विकेट लिइन् ।

त्यसअघि खराब मौसमका कारण ढिला सुरू भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोशीले १३ ओभरमा ७ विकेट गुमाएर ६३ रन बनाएको थियो । बिमला मलाहाले १९ तथा कप्तान रुबिना क्षेत्रीले १५ रन बनाइन् ।

बागमतीका लागि मनिषा उपाध्यायले ३ ओभरमा ७ रन मात्र दिएर ४ विकेट लिइन् । पूजा साउद, विपिशा शाही र संस्कृति फुयालले १-१ विकेट हात पारे ।

खबरपाटी
खबरपाटी