इन्ड्राइभ राइडरले महिला यात्रुलाई दुर्व्यवहार गरेको घटना के हो ?

इन्ड्राइभ राइडरले महिला यात्रुलाई दुर्व्यवहार गरेको घटना के हो ?

काठमाडौं । इन्ड्राइभ राइडरले महिला यात्रुलाई दुर्व्यवहार गरेको घटनाबारे अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । टिकटकमा एन्जिला खड्का नामकी प्रयोगकर्ताले राइडरको दुर्व्यवहारबारे भिडिओ बनाएर अपलोड गरेपछि यस विषयले थप चर्चा पाएको हो । 

ढकालले अपलोड गरेको नौ मिनेटको भिडिओमा इन्ड्राइभ राडइरले कसरी दुर्व्यवहार गरे, अनि त्यसले आफूलाई कस्तो समस्या पार्‍यो भन्ने उल्लेख गरिएको छ । उनका अनुसार २ माघमा उनी आफ्नी बहिनी सहित चितवनबाट काठमाडौं फर्किंदै थिइन् । 

बेलुका साढे ७ बजेतिर उनीहरू फर्किरहेको गाडी बीचैमा बिग्रियो । “गाडी बिग्रिएपछि ड्राइभर दाइले मुग्लिन बजारको ग्यारेजमा गाडी जाँच गर्दै हुनुहुन्थ्यो,” ढकालले भिडिओमा भनेकी छिन्, “उहाँ ९ड्राइभर०ले ‘गाडी बनाउन कति समय लाग्छ थाहा छैन । धेरै समय लाग्ने रहेछ भने अर्को गाडी बोलाउनु पर्ने हुन्छ । नत्र अरू केही विकल्प खोज्नुपर्ने हुन्छ’ भन्नुभयो ।”

यसरी ड्राइभरले समय कति लाग्छ भन्ने निश्चित नभएको बताएपछि ढकाल त्यसको विकल्प सोच्न थालिन् । त्यही समयमा उनलाई इन्ड्राइभले सहरदेखि सहरसम्म यात्रा सुरु गरेको ‘सिटी टु सिटी’ राइड सर्भिस सम्झिइन् । सानो बच्चा साथमा भएकी उनलाई इन्ड्राइभ नै उपयुक्त विकल्प लाग्यो । र, बुक गरिन् । “मलाई त्यस्तो आपत पर्दा पनि सबैभन्दा पहिले मेरो दिमागमा इन्ड्राइभ नै आएको थियो, त्यति विश्वास थियो इन्ड्राइभप्रति,” उनले अगाडि भनिन्, “त्यसैले मैले इन्ड्राइभ बुक गरे ।”


इन्ड्राइभमा सिटी टु सिटी इन्ड्राइभ बुक गर्ने तरिका फरक छ । त्यसमा सबैभन्दा पहिले यात्रुले सिटी टु सिटीको अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि आफू भएको ठाउँ र पुग्नुपर्ने ठाउँ राख्नुपर्ने हुन्छ । र, अन्तिममा मूल्य उल्लेख गर्नुपर्ने हुन्छ । सामान्य राइडमा यस्तो मूल्य इन्ड्राइभले आफै तोकिदिएको हुन्छ । त्यसैमा यात्रुले आफूलाई उपयुक्त हुने मूल्य छानेर रिक्वेस्ट गर्नुपर्ने हुन्छ । उक्त दर चित्त बुझ्ने राइडरले आफ्नो मूल्य पठाउँछन् र यताबाट यात्रुले एसेप्ट गरेपछि त्यही मूल्य लागू हुन्छ । अर्थात् यसमा दुवैले रिक्वेस्ट एसेप्ट नगरेसम्म एक अर्कासँग सम्पर्क गर्न सकिंदैन । 

तर, सिटी टु सिटी राइडमा मूल्य यात्रुले नै तोक्ने भएकाले यात्रुले रिक्वेस्ट गरेपछि त्यसको जानकारी राडइरसम्म पुग्छ । र, मूल्य मिलाउनका लागि यात्रु र राइडर फोनबाटै सम्पर्क गर्न सक्छन् । 

ढकालका अनुसार इन्ड्राइभ राइडरले मूल्य मिलाउन उनलाई कल गरे । र, ५०० रुपैयाँ थप्न अनुरोध गरे । तर, ढकालले आफूले राखेको मूल्य नै अन्तिम मूल्य भएको बताइन् । 

“हुन्छ दाइ, धेरै टाइम नलगाउनु किनभने मैले अर्को राइड खोज्नुपर्ने हुन्छ भने,” उनले भनेकी छिन्, “उहाँले तपाईंको यो नम्बरमा ह्वाट्सएप छ भने खबर गरिहालें भन्नुभयो ।”

त्यसपछि त्यहीबेला फोनमा भइरहेको कुराकानीमा राइडरले आफू उक्त राइड लिन तयार भएको र उनीहरू भएको स्थानसम्म पुग्न ४० देखि ४५ मिनेट लाग्ने बताए । र, यता ढकालले ‘हुन्छ, म पर्खिन्छु’ भनिन् । 

त्यसपछि ती राइडरले ह्वाट्सएपमा मेसेज पठाए । ढकाललाई राइडरले मूल्य बढाउनका लागि मेसेज गरेका हुन् कि भन्ने लाग्यो । “तर, उहाँले ‘म एउटा कुरा भन्छु, हजुर नरिसाउनुस् ल’ भन्नुभयो,” उनी भन्छिन्, “‘अँ, भन्नुस् न दाइ, के भयो’ भनेर भने । मलाई उसले भाडा बढाउने कुरा गर्छ भन्ने लागेको थियो । तर, उहाँले, ‘तपाईं र म बाटोमा एक घण्टा कहीं बसौंन है” भन्नुभयो ।” म झस्किएँ । यो एकदमै डरलाग्दो थियो । पछि उनले भनिन्, “लाज लाग्दैन दाइ, तपाईंले कस्तो कुरा गरेको यो । म तपाईंको कम्प्लेन गर्दिम् ?’ भनेर भन्दा उहाँले, ‘किन, मन मिल्यो भने बसम्’ भनेर भन्नुभयो ।”

ढकालले प्रमाण स्वरूप उक्त च्याटको स्क्रिनरेकर्ड गर्दै टिकटकमा सार्वजनिक गरेकी छन् । सो भिडिओमा उनले दाबी गरे जस्तै राइडरले मेसेज पठाएको देख्न सकिन्छ ।

गुनासो गर्छु भन्दा पनि राइडरले निरन्तर त्यही प्रस्ताव राख्न थालेको उनले दाबी गरेकी छिन् । ढकालका अनुसार उही आशयका मेसेज बारम्बार पठाउन थालेपछि उनले ब्लक गरिन् ।

“उसले मलाई ह्वाट्सएपमा मेसेज नपठाएर म र मेरो बहिनीलाई रिसिभ गरेर अनि म त्यो गाडीमा चढेर मुग्लिनबाट काठमाडौं, त्यो बाटो अँध्यारोमा त्यस्तो कुरा गरेको भए ? त्यो परिस्थिति कस्तो हुन्थ्यो होला ?,” उनले भनिन्, “म कहाँ हुन्थें होला, मेरो बहिनी कहाँ हुन्थी होला ? यो घटना कसैले थाहा पाउँथ्यो वा पाउँथेन होला ।”

ढकालले उक्त भिडिओमा आफूले इन्ड्राइभ गर्न खोज्दा भौतिक अफिस नभएको र सम्पर्क नम्बर पनि नभएको गुनासो गरिन् । त्यसपछि उक्त एपभित्रै भएको ग्राहक प्रतिनिधि सेवामा सम्पर्क गरिन् । भिडिओमा ढकालले इन्ड्राइभका प्रतिनिधिलाई सम्पर्क गर्दा प्रहरीमा उजुरी दिन सुझाव दिएको बताइन् । इन्स्टाग्राम र एपमार्फत गुनासो गरिसकेपछि कम्पनीका प्रतिनिधिले किन सम्पर्क गरेनन् भन्दै उनले गुनासो पोखेकी छिन् । 

ढकालले प्रहरीको भनाइ उद्धृत गर्दै उनीहरूलाई इनड्राइभका प्रतिनिधिसँग कुरा गर्न समस्या हुने उल्लेख गरेकी छिन् । तर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षकले भने आफूहरूलाई इन्ड्राइभ, पठाओ लगायतका राइड शेयरिङ प्लेटफर्म, बैंक तथा वित्तीय संस्था आदिसँग सहकार्य गरी अनुसन्धान गर्न कुनै समस्या नरहेको बताए । “अनुसन्धानका क्रममा पठाओ, इन्ड्राइभका प्रतिनिधिले सजिलै सहकार्य गर्नुहुन्छ,” प्रहरी उपरीक्षक आचार्यले भने, “उहाँहरूसँग राइडरको विवरण माग्न हामीलाई समस्या छैन ।”

के भन्छन् इन्ड्राइभका प्रतिनिधि ?

इन्ड्राइभका प्रतिनिधिका अनुसार महिलाले गुनासो गरिसकेपछि राइडरलाई तत्कालै इन्ड्राइभले सस्पेन्ड गरेको छ । “हामीले यस्ता किसिमका घटनाको अनुसन्धानका क्रममा प्रहरीलाई सहयोग गर्दै आएका छौं,” इन्ड्राइभका प्रतिनिधिले टेकपानालाई भने, “हामी यात्रु र राइडरलाई जोड्ने माध्यम हौं । कुन राइडर कस्तो हुन्छ, उसको नियत कस्तो हुन्छ भन्ने हामीलाई थाहा हुँदैन । तर, हामी यस्ता घटनामा तत्कालै आफ्ना प्रक्रिया अगाडि बढाउँछौं ।” 

यात्रुले इन्ड्राइभको मोबाइल एपबाट गुनासो गर्दा २४ सैं घण्टा गुनासो सम्बोधन गर्ने गरेको कम्पनीका प्रतिनिधिको दाबी छ । राइडरले दुर्व्यवहार गर्ने घटना आइरहँदा त्यसलाई न्यूनीकरण गर्न कम्पनीले फोन नम्बर नदेखिने फिचर ल्याएको थियो । अर्थात् राइडरले यात्रुको नम्बर नदेख्ने, तर अनलाइनबाटै कल गर्न सकिने फिचर ल्याएको थियो । तर, सुरुवाती चरणमा यस सेवाले थप जटिलता सिर्जना गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब छिट्टै यात्रु वा राइडरका व्यक्तिगत जानकारीबिनै एपबाटै सम्पर्क गर्न सकिने फिचर आउन लागेको छ । 

त्यसबाहेक यात्रुको सुरक्षाका लागि ठाउँ-ठाउँमा राइडर सेन्टर स्थापना गर्न लागेको कम्पनीले जनाएको छ । “त्यस्ता राइडर सेन्टरबाट हामी राइडरलाई तालिम दिन्छौं, उहाँहरूका गुनासो लिन्छौं,” ती प्रतिनिधिले भने ।

खबरपाटी
खबरपाटी