रविको मुद्दामा भोलि थुनछेक आदेश आउन सक्ने, सुरक्षा व्यवस्था कडा

रविको मुद्दामा भोलि थुनछेक आदेश आउन सक्ने, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भोलि (बिहीबार)सम्ममा थुनछेक आदेश आउने सम्भावना बढेको छ ।


प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले भोलि जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो ।

सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्ममा अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरेको बताइन् ।

उनले भनिन्, ‘भोलि फर्स्ट आवरमा जवाफी बहस पनि सकिन्छ र साँझसम्ममा आदेश आउने अपेक्षा हामीले गरेका छौं ।’ 


मंगलबार मात्रै प्रतिवादीमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका थिए ।

बुधबार प्रतिवादीहरू रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका छन् । साथै, जाहेरवालाका तर्फबाट पनि बहस हुँदैछ ।

थुनछेकको आदेश नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्र बैंक चोक, वाई चोक र शहीद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यहाँ सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । 

प्रतिवादीमध्ये रविविरुद्ध मात्रै सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी गरिएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ । 

अर्का प्रतिवादी छविलाल जोशीविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको थियो । 

कान्छा न्यायाधीश नितिज राईको इजलासमा भइरहेको बहस सकिएपछि थुनछेक आदेश आउने छ ।

थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नसक्छ ।

पुर्पक्षका लागि कारागार पठाउने आदेश भएमा रवि भोलि नै जेल चलान हुनेछन् भने अन्य आदेशमा बाहिरै बसेर मुद्दा लड्न सक्नेछन् ।

खबरपाटी
खबरपाटी