खानेपानीमन्त्री भन्छन्- हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छु

खानेपानीमन्त्री भन्छन्- हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छु

काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताएका छन् ।

आज नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया बाराको आयोजनामा कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी ९तीन दशमलव ४ किमी० नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्  ।


उनले भने, ‘बारा जिल्लामा घाम पानीले क्षति पुर्‍याएका खानेपानीका सबै टङ्कीहरु मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने म बचन दिन चाहन्छु ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी गर्ने कार्य बढेको तथा जलवायु परिवर्तनका कारण तराइका विभिन्न क्षेत्रमा रहेका भूमिगत खानेपानी सहित चापाकलहरु सुक्दै गएकाले आगामी दिनमा तराइका क्षेत्रमा पानीको निकै समस्या उत्पन्न हुने अवस्था सृजना भएको बताए । 


‘विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउँथ्यो, चुरे दोहन, जङ्गल फडानी तथा जलवायु परिवर्तनका कारण तीन सय फिटमा पनि आउन छोडेको छ’, उनले भने, ‘शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको निकै हाहाकार हुने सम्भावना छ । सरकार हरेक नागरिकको पहुँचमा शुद्ध खानेपानी पुर्‍याउनका लागि कटिबद्ध रहेको छ ।’

बाराको सिस्वा गाउँवासी एवं आसपासका क्षेत्रका लागि खानेपानी आयोजना निर्माण गर्न आगामी महिना रु १४ करोडको टेण्डर आह्वान गर्ने कार्य योजना रहेकोसमेत मन्त्री यादवले विश्वास दिलाए । 

उनले भने, ‘म खानेपानी मन्त्री हुँ । मेरो काम नागरिकलाई शुद्ध पानी खुवाउनु हो । मेरो कार्यकालमा सबै नागरिकलाई शुद्ध अनि स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने छु ।’

आम नेपाली नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका खानेपानी मन्त्रालय मातहतका सबै खानेपानी आयोजनाहरूको नतिजा देखिने गरी काम गरी काम भइरहेको समेत मन्त्री यादवले जानकारी दिए ।

खबरपाटी
खबरपाटी