पोखरामा थुनछेक बहस चलिरहँदा रविविरुद्ध काठमाडौँमा मुद्दा दर्ताको तयारी

पोखरामा थुनछेक बहस चलिरहँदा रविविरुद्ध काठमाडौँमा मुद्दा दर्ताको तयारी

काठमाडौँ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा थुनछेक बहस चलिरहेका बेला प्रहरीले काठमाडौँमा पनि मुद्दा दर्ताका लागि सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अनुसन्धान सकेर बिहीबार प्रतिवेदन बुझाउने तयारी गरेको प्रमुख एसएसपी बसन्त रजौरेले देश सञ्चारसँग बताए।

यसमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएका रास्वपा सभापति लामिछाने सहित ४४ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले कार्यालयलाई रायसहितको प्रतिवेदन दिएको छ।

तर सरकारी वकिल कार्यालय काठमाडौंले भने अभियोजन गरेर कति जनाविरूद्ध मुद्दा चलाउने भन्ने निर्णय गर्न बाँकी छ।

उक्त सहकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामा मात्रै परिसरको हिरासतमा छन्। केही प्रतिवादीहरू कास्की प्रहरीको हिरासतमा छन भने केही फरार छन्।

जहाँ रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सहकारीका पूर्वअध्यक्ष जिबी राई, उनका दाइ देवेन्द्रबाबु राई, , पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, सबिना आलेमगर, लगायतविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।

प्रहरीका अनुसार उक्त सहकारीबाट गोर्खा मिडियामा मात्रै ६४ करोड रकम गएको छ।

प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि केहीदिनभित्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा पेश गर्नुपर्ने कानुनी बाध्यता छ।

प्रहरीले सहकारी बचत रकम अपचलन र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको हो। संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर मुद्दा पेस गर्नुपर्ने व्यवस्था छ।

खबरपाटी
खबरपाटी