काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एअरको विमान दुर्घटना हुनुभन्दा ६ मिनेटअघि विमानस्थलको कन्ट्रोल टावरले चरा ठोक्किन सक्ने चेतावनी दिएको खुलेको छ।
सियोलबाट २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जिओला प्रान्तको मुआन विमानस्थलमा जेजु एअरको विमान आइतबार बिहान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको थियो। दुर्घटनामा १७७ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन्। चालक दलका दुई जना सदस्यको उद्धार गरिएको छ।
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। विमान उडानका समय भएका गतिविधिको ‘ब्ल्याक बक्स’मा रेकर्ड हुन्छ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडान सम्बन्धी तथ्याङ्क र भ्वाइस रेकर्डर दुवै भेटिएको जनाइएको छ। विमानमा दक्षिण कोरियाका १७३ र थाइल्यान्डका दुई जना नागरिक सवार थिए। त्यस्तै, चालक दलका सदस्य ६ जना थिए।
यो विमानको पहिलो अवतरण प्रयास असफल भएको थियो। अवतरण गियरको खराबीको कारण विमान पुनः आकाशमा फर्किएको थियो। दोस्रो पटक ‘बेली(ल्यान्डिङ’को सहयोगमा अवतरण प्रयास गरिएको थियो।
स्थानीय टेलीभिजनले प्रशारण गरेको एउटा फुटेजमा बोइङ ७३७(८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ। अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ। यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ।
हवाई सुरक्षाको रेखदेख गर्ने भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको प्रेस ब्रिफिङ अनुसार कन्ट्रोल टावरले बिहान ८ः५७ बजे चेतावनी जारी गरेको हो। विमान चालकले चेतावनीपछि बिहान ८ः५९ बजे सङ्कटकालीन अवस्थाको घोषणा गरेको मन्त्रालयले जनाएको छ।
त्यसपछि चालकले बिहान ९ बजे अवतरणको प्रयास गरेको थियो। पहिलो प्रयासमा अवतरण गर्न नसकेपछि दोस्रो पटक ९ बजेर ३ मिनेटमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो। “धावनमार्ग नम्बर १ मा अवतरण गर्ने क्रममा कन्ट्रोल टावरले चरा ठोक्किनसक्ने अवस्थाको चेतावनी जारी गरेको थियो र त्यसको केही समयपछि चालकले आपतकालीन अवस्थाको घोषणा गरेका थिए,” मन्त्रालयले भनेको छ।
सरकारी अधिकारीहरूका अनुसार कन्ट्रोल टावरले धावनमार्गमा विपरीत दिशामा अवतरणका लागि अनुमति दिएको थियो। त्यसपछि पाइलटले विमानलाई सुरक्षित अवतरण गर्ने प्रयास गरेका थिए। केहीबेरमै विमानमार्गको पर्खालमा ठोक्किएको थियो।
मुआन विमानस्थलको धावनमार्ग तुलनात्मक रुपमा छोटो भएका कारण दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसलाई भने कोरियाली सरकारले अस्वीकार गरेको छ।
धावनमार्ग दुई हजार ८०० मिटर लामो भए पनि निर्माण कार्य जारी रहेकाले अहिले वास्तविक लम्बाइ करीब दुई हजार ५०० मिटर छ। “आज दुर्घटनाग्रस्त भएको बोइङ ७३७-८०० विमान एक हजार ५०० मिटरदेखि एक हजार ६०० मिटर लामो धावनमार्गमा अवतरण गर्न सक्छ,” मन्त्रालयका एक अधिकारीले भने, “धावनमार्गको लम्बाइका कारण दुर्घटना भएको भन्न गाह्रो छ किनभने अन्य विमानहरू कुनै समस्याविना अवतरण गरिरहेका छन्।”
कोरिया एयरपोर्ट कर्पोरेशन ९क्याक० को तथ्याङ्कअनुसार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ देखि यस वर्षको अगस्टसम्म १० वटा चरा ठोक्किएका घटना छन्। क्याकका अनुसार विमानस्थलहरूले चरालाई टाढा राख्न ध्वनिक निवारक र अन्य उपाय प्रयोग गरेका छन्।
मुआन दुर्घटना दक्षिण कोरियामा अहिलेसम्मकै तेस्रो सबैभन्दा घातक हवाई दुर्घटना हो। सन् १९८३ मा सोभियत लडाकु विमानले रूसी आकाशमा उडेको कोरिययन एअरको विमान खसाल्दा विमानमा सवार सबै २६९ जनाको मृत्यु भएको थियो भने सन् १९९७ मा गुआममा कोरियन एअरको विमान दुर्घटना हुँदा २२५ जनाको मृत्यु भएको थियो।