काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत काकस्कीमा सुरु भएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका लामिछानेको बयान बिहीबार दिउँसोबाट सुरु भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बताए।
यो मुद्दामा न्यायाधिश नितिज राईको इजलासमा थुनछेक प्रक्रिया अगाडी बढेको हो। यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान भइरहेको हो। बिहीबार नै अर्की प्रतिवादी लिला पछाईको बयान सकिएपछि रविको बयान सुरु भएको हो। यसअघि नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीको बयान सकिएको थियो।
अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ। उनीहरुको बयान शुक्रबारसम्ममा सक्ने अदालतको तयारी छ। श्रेस्तेदार खनालले शुक्रबारसम्ममा बयान सक्ने तयारी भएपनि लामिछानेको बयान लामो भए आइतबार मात्रै बयान सकिने सम्भावना रहेको बताए।
सूर्यदर्शन सहकारी ठगीमा लामिछानेसहित ३१ जनालाई प्रतिवादी बनाइएको छ। सम्पत्ति शुद्धीकरणमा चार जना र क्रिप्टोको कसुरमा २ जनालाई प्रतिवादी बनाइएको छ। सहकारी ठगीमा उनीहरुविरुद्ध १ अर्ब ५१ करोड ४० लाख बढी बिगो कायम गरिएको छ।
बयान सकिएपछि उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिर भनेर आदेश हुनेछ।